नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले विदेशमा कार्यरत नेपाली श्रमिकलाई आपतकालीन अवस्थामा उद्धारका लागि ‘र्यापिड एक्सन टिम’ बनाउन जरुरी देखिएको बताएकी छन्।
प्रतिनिधिसभाको शनिबारको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले परराष्ट्र मन्त्रालयमा त्यससम्बन्धी छुट्टै डेस्क स्थापना गर्न समेत सुझाव दिइन्। आमनागरिकको सिधै पहुँच विदेशस्थित नेपाली नियोगहरुसँग नहुने भएकाले मन्त्रालयमै स्थायी संरचना बनाउनुपर्ने उनको भनाइ थियो।
‘विभिन्न देशमा हरेका नेपाली वर्कर (श्रमिक) हरुलाई आपत परेका बेला उद्धार गर्न परराष्ट्र मन्त्रालयमै र्यापिड एक्सन टिम बनाउन जरुरी छ’, बरालले भनिन्, ‘एउटा सामान्य नागरिकका लागि नेपाल बाहिरका नियोगहरुमा सिधै सम्पर्क गर्ने कुरा पनि असम्भव छ। र्यापिड एक्सन टिम बनाउने र त्यसले असहजताको अवस्थामा नेपालीलाई सहजीकरण गरेर उद्धार गर्ने कुरामा मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु।’
बरालले विदेशी डायस्पोराका नेपालीसँगको सहकार्यलाई परराष्ट्र मन्त्रालयले ध्यान नदिएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत नेपालीका संघसंस्थासँगको सम्बन्ध जिवन्त बनाउनुपर्नेमा जोड दिइन्।
फरक प्रसंगमा बरालले नेपाल आगामी वर्षबाट नेपाल अतिकम विकसिम मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नती भएपछि हाल विभिन्न क्षेत्रमा आइरहेका वैदेशिक सहायता रोकिने भएकाले नेपालमै श्रोतको व्यवस्थापन खोज्न अहिल्यैदेखि काम गर्न सरकारको ध्यानाकर्षण गराइन्।
यस्तै उनले नेपालको विदेश नीति असंलग्नताको सिद्धान्त र ‘सफ्ट पावर डिप्लोमेसी’ को मान्यताका आधारमा अघि बढेकाले ‘कल्चरल’ र ‘टुरिज्म’ कूटनीतिमा जोड दिनुपर्ने उल्लेख गरिन्।
बरालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विश्वबजारको आवश्कताअनुसारको प्रतिस्पर्धी र दक्ष बनाउन र विदेशमा काम गरेर फर्किएका (रिटर्नी) हरुलाई एकीकृत रुपमा लगानी गरी उद्यमशीलता र रोजगारी सृजना गर्ने काममा लगाउनुपर्ने बताइन्।
Shares

प्रतिक्रिया