राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा पीडित भएका २ हजार बढी नेपाली नागरिक सम्पर्कमा आएको जनाएको छ। कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार रास्वपाले 'भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएको कोही छ?' भनेर आह्वान अभियान चलाएको र उक्त अभियानमार्फत प्रमाणसहित २ हजार नेपाली सम्पर्कमा आएका छन्।
उनले सम्पर्कमा आएकाहरूलाई सम्बन्धित सरकारी तथा संवैधानिक नियोगहरूमा जान सुझाएको पनि बताए। त्यस्तै रास्वपाले गृहमन्त्रीले सदनमा बोल्दा नक्कली उजुरी दिन लगाएको भनेर विषयान्तर गर्न खोजेको आरोप पनि लगाएको छ।
'रास्वपाले यसलाई बिषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृङ्खला मानेको छ'उनले भने।
त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिने काम भइरहेको भनेर समाचार सार्वजनिक भएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै सत्यतथ्य पत्ता लगाउन सांसद चन्दा कार्की भण्डारीको नेतृत्वमा वरिष्ठ अधिवक्ता डा नारायण घिमिरे र पूर्व एसएसपी लव विष्ट सदस्य रहेको समिति गठन गरिएको उनले जानकारी दिए।
भिजिट भिसा र मानव तस्करी संगठित अपराध भएको र रास्वपा त्यसको विरुद्धमा आन्दोलन गरिरहने झाले बताए।
'हामीले पटक पटक भनेकै छौँ। हामी भिजिट भिसा र मानव तस्करीको सङ्गठित अपराधको विरुद्ध आन्दोलन गर्दै छौँ। यसमा विगतका गृहमन्त्रीहरू सबैको छानबिन गरौँ भनेका छौँ,' उनले भने, 'हाम्रो मुद्दा कोही एक दल र नेता प्रति लक्षित छैन। कोही एक व्यक्तिको पछि लाग्ने हाम्रो राजनीतिक आचरण र अभ्यास छैन र त्यो हाम्रो राजनीतिक प्राथमिकता पनि हैन।'
Shares

प्रतिक्रिया