स्वास्थ्य सामग्री खरिदका लागि सरकारले ५ देशमा औपचारिक पत्र पठाएको छ। नेपाली सेनाको सिफारिसमा परराष्ट्र मन्त्रालयले ती देशमा पत्र पठाएको हो।
सेनाले स्वास्थ्य सामग्री खरिदका लागि चीन, भारत, दक्षिण कोरिया, सिंगापुर र इजरायल छनोट गरेको थियो। यी देश छनौट गर्दै सेनाले खरिद गर्नुपर्ने स्वास्थ्य सामग्रीको सूचिसहित मंगलबार रक्षा मन्त्रालयमा पत्र पठाएको थियो। रक्षाले सेनाको सिफारिस अनुसारका ती देशलाई पत्राचार गर्न परराष्ट्रमा भनेको छ।
बुधबार ती देशमा पत्र पठाउने तयारी भइरहेको परराष्ट्र श्रोतले जनाएको छ। ‘हाम्रो सूचीअनुसार कुन देशले के सामग्री दिन सक्छन् ती सामग्री ल्याउने हो,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने, ‘अहिलेको विश्वव्यापी महामारीमा एउटै देशमा सबै सामग्री नहुन सक्छ। त्यही भएर सबै देशमा हामीलाई आवश्यक सामग्रीको सूची पठाएका छौं।’
सूचीअनुसार कुन देशले कुन–कुन सामग्री कति मात्रामा उपलब्ध गराउन सक्छन् भन्ने जवाफ आएपछि सेनाले सामग्री खरिद गर्ने देशको टुंगो लाग्नेछ। यसअघि अनौपचारिक कुराकानीपछि देश छनोट गरेको सेनाले ती देशसँग लिखित जवाफ मागेको हो। यसअघि नै दूतावासमार्फत अनौपचारिक रुपमा सम्बन्धित देशसँग कुराकानी भइसकेको छ।
पुरानै खरिद इकाईले काम गर्ने गरी रक्षा मन्त्रालयले सेनालाई स्वीकृति दिएको भोलिपल्टै सेनाले सामानको सूचीसहित पत्राचार गरेको हो। यसअघि स्वास्थ्य मन्त्रालयमार्फत टेन्डर गरेर स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएपछि सरकारले सामान ढुवानीको जिम्मा नेपाली सेनालाई दिएको हो। यसअघि ओम्नी समूहले गुणस्तरहिन सामग्री बढी मूल्यमा खरिद गरेपछि ठेक्का नै रद्द गरिएको थियो।
चैत १६ गतेको मन्त्रिपरिषद् बैठकबाट सेनालाई दिने निर्णय भएपनि सेनालाई एकसाताअघि मात्रै रक्षाले सामान ढुवानीको प्रक्रिया अगाडी बढाउन पत्र पठाएको थियो।
रक्षाको पत्रपछि नेपाली सेनाले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेर नेपाललाई आवश्यक सामग्रीको सूची तयार गरेको थियो।
सोही सूची अनुसारका स्वास्थ्य सामग्री ढुवानीको प्रक्रिया अगाडि बढाएको हो। अब पत्राचार गरिएका देशको जवाफपछि मात्रै सेनाले सामग्री ल्याउने देश र समय टुंगो लाग्ने प्रवक्ता पाण्डेले बताए।

प्रतिक्रिया