राजनीति


सालघारी‍ फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

सालघारी‍ फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

नेपालखबर
असार १, २०८२ आइतबार १७:५४, काठमाडौँ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र चोरी निकासी रोक्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको वन मन्त्रालयको ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले अहिले पनि केही जिल्लाहरूमा वन फडानी र चोरी भइरहेको जानकारीमा आएकाले कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिएका हुन्। 

वनमन्त्री ऐनबहादुर शाही, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, वन मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रसहितको छलफलमा प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा हुने फडानी रोक्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले यसअघि गत वैशाख २७ गते सोही मन्त्रालयद्वारा गत आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीको उद्घाटन कार्यक्रममा पनि सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरूको महत्त्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने धारणा राखेका थिए।

छलफलमा प्रधानमन्त्री ओलीले वन मन्त्रालयबाट दिइने वातावरणीय परीक्षण मूल्याङ्कन (इआइए) को स्वीकृतिमा ढिलाइ हुँदा कतिपय आयोजनाको अवधि सकिए सञ्चालन अनुमति सकिने र धरौटी जफत हुने समस्यालाई ध्यान दिएर कानुनमा हुनुपर्ने संशोधनको प्रस्ताव ल्याउन आग्रह गरे। 

ब्रिफिङमा मन्त्रालयले तयार गरेको ‘नेपाल सवारी प्रदूषण मापदण्ड, २०८२’ को मस्यौदाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो। प्रस्तावित मापदण्डमा सवारी साधनमा युरो–६ र समानताको मापदण्ड लगाउने लगायत व्यवस्थाहरू गरिएका छन्।

प्रधानमन्त्री ओलीले सवारी प्रदूषण मापदण्डका साथै वन–जङ्गल डढेलो र छिमेकी मुलुकलगायतबाट डढाइने छ्वालीको धुवाँका कारण नेपाली आकाश प्रदूषित हुने समस्याका विषयमा क्षेत्रीयस्तरमा सम्मेलन गरी समाधानको उपाय निकाल्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad