राजनीति


०८३ को मंसिरअगाडि नै पार्टीको महाधिवेशन हुन्छः गगन थापा

०८३ को मंसिरअगाडि नै पार्टीको महाधिवेशन हुन्छः गगन थापा

नेपालखबर
जेठ ३१, २०८२ शनिबार १२:२१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८३ साल मंसिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन्।  

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौँको तेस्रो प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ कि भन्ने आशंका भए त्यो भ्रमबाट बाहिर निस्किन आग्रह गरेका हुन्। 

महाधिवेशन सार्न नेपाली कांग्रेस पार्टीले आफूले चाहेर मात्रै नहुने भन्दै अदालती समस्या हुने उनको भनाइ थियो। 

‘हामी २०८३ साल मंसिर भन्दा अगाडि नै हामीले अधिवेशन गरिसक्नुपर्छ। तपाईंहरु कसैको दिमागमा कहीँ कतै यो ०८४ सालको निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने आशंका छ भने त्यो भ्रमबाट निस्किहाल्नुस्,' उनले भने, 'नेपाली कांग्रेस पार्टीले आफूले चाहेर, हामी सबै मिल्यौँ ल, पार्टी सभापति शेरबहादुर देउवादेखि अहिलेका भुतपूर्व पदाधिकारीहरु एउटा समूह बनेको छ, सबै मिल्यौँ ल, शेखर कोइराला, शशांक कोईरला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भन्यौँ भने पनि त्यो अदालतले लगेर देखाइदिन्छ, पाइँदैन। कोही कुनै पार्टीसँग मिलेर पनि पाइँदैन। नयाँ नाम फेरे पाइन्छ। अधिवेशनका बारेमा कोही पनि कन्फ्युजनमा नरहनु होला।'

उनले पार्टीको महाधिवेशन गराउने अन्तिम समय भनेको ०८३ को मंसिर भएको बताए। 
'हामीसँग लास्ट डेट भनेको ०८३ को मंसिर हो। त्यहाँसम्म पुर्‍याउनु हुन्न। त्यसले हाम्रो स्थानीय चुनावलाई प्रभावित गर्दछ,' उनले भने, 'सकेसम्म अगाडि तान्नुपर्छ। तपाईंहरुले जति छिटो क्रियाशिल सक्याइदिनुहुन्छ, त्यति छिटो हामी अधिवेशनमा लिएर जानसक्छौँ।’

महामन्त्री थापाले भ्रातृसंस्थाहरुको अधिवेशन गर्न नसक्दा दुःख दिइरहेको बताए। नेविसंघ, तरुण दल, महिला संघलाई अधिवेशन गर्छु मात्रै भने पार्टीको पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। अब भने पार्टीले नै जिम्मा लिएर अधिवेशन गराउनुपर्ने अवस्था रहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad