नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन सर्वोच्च अदालत विभागले उच्च अदालत जनकपुर, वीरगंज इजलासमा न्यायाधीश डा. खुशीप्रसाद थारुमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ।
शुक्रबार विज्ञप्ति प्रकाशित गरी संगठनले ‘मोहम्मद अफ्ताब आलम विरुद्ध नेपाल सरकारको कर्तव्य ज्यान मुद्दामा अदालतले दिएको फैसलाको विरोधका क्रममा मिति २०८२ जेठ २९ गते दिउँसो ३ः३० बजे इजलाशमै उपस्थित माननीय न्यायाधीश डा. खुशीप्रसाद थारु र माननीय न्यायाधीश अर्जुन महर्जनमाथि कालोमोसो प्रहार गरिएको घटनाप्रति नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, सर्वोच्च अदालतको तर्फबाट गम्भीर ध्यानाकर्षण भएको’ जनाएको छ।
‘न्यायालयका फैसलाहरू संविधान, कानुन र प्रमाणमा आधारित हुने गर्दछन्। यस्ता फैसलाप्रति असहमति भएमा त्यसको निराकरण न्यायिक विधिबाट नै खोजिनु लोकतान्त्रिक अभ्यास हो’ संगठनले भनेको छ, ‘तर, कानूनको शासनको मर्म विपरीत न्याय सम्पादनमा संलग्न न्यायकर्तामाथि भौतिक हमला गर्नु आपराधिक कार्य हो, जसलाई कानुनी हिसाबले सहन सकिँदैन।’
यस प्रकारको हिंसात्मक कार्यलाई समर्थन गर्नु, त्यसलाई उत्सवको रूपमा प्रस्तुत गर्नु तथा यसबाट न्यायालयको गरिमा र स्वतन्त्रतामाथि प्रहार गर्नु गम्भीर चिन्ताको विषय हो भन्दै संगठनले दोषीहरूलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ।
Shares

प्रतिक्रिया