कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा भोलि (मंगलबार) बाट अवकाशमा जाने भएका छन्।
सचिवको ५ वर्षे सेवा अवधिका उनी अनिवार्य अवकाशमा जान लागेका हुन्।
उनलाई डा वैकुण्ठ अर्यालपछिको मुख्यसचिवका रूपमा हेरिएको थियो। तर, वैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दाका कारण चाँडै नै बहिर्गमनमा परेपछि मुख्यसचिवमा लीलादेवी गड्तौला र एकनारायण अर्यालले पालो पाए। एकनारायण अहिले मुख्यसचिवमा बहाल नै रहेकाले सापकोटा मुख्यसचिव बन्न पाएनन्।
त्यसो त उनलाई सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार वा उच्च अदालतको न्यायाधीश बनाउने ठाउँ पनि थियो।
हालका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाललाई न्यायाधीश बनाएर पठाउने र त्यस ठाउँमा सापकोटालाई ल्याउने विषयमा पनि छलफल नभएको होइन। सर्वोच्च अदालतका अधिकारीहरू अझै यो सम्भावना रहेको बताउँछन्। तर, यसका लागि न्याय परिषद् र न्याय सेवा आयोगले सिफारिस गर्नुपर्ने हुन्छ। सोमबार साँझसम्म पनि यस विषयमा कुनै निर्णय हुन सकेको छैन। आयोगको सिफारिस त मन्त्रिपरिषद् बैठकबाट अनुमोदन पनि हुनुपर्छ।
कानुनका उच्च अधिकृतहरू प्रायः उच्च अदालतको न्यायाधीश बनेर जाने अभ्यास छ। त्यसैले उनलाई न्यायाधीश बनाएर पठाउने विकल्प पनि नभएको होइन। तर, अवकाशको डिलैमा पुगिसक्दा पनि कुनै निर्णय हुन सकेको छैन।
यस विषयमा जिज्ञासा राख्दा कानुनमन्त्री अजयकुमार चौरसियाले भने, ‘त्यस विषयमा कुनै तयारी भएको मलाई थाहा छैन।’
उनी न्याय परिषद् र न्याय सेवा आयोगका सदस्य पनि हुन्। प्रधानन्यायाधीश अध्यक्ष हुने न्याय परिषद्को बैठक केही समययता दिनदिनैजसो बसिरहेको छ।
Shares

प्रतिक्रिया