सुदूरपश्चिममा दिनहुँ कोरोना संक्रमण बढ्दै गएको छ। सुदूरपश्चिममा सक्रिय कोरोना संक्रमितको संख्या १४ पुगेको छ।
तीब्र रुपमा कोरोना फैलिरहेको भारतको विभिन्न क्षेत्रबाट फर्किएका उनीहरूमा संक्रमण देखिएको छ।
कैलालीको गौरीफन्टा नाका भएर भारतबाट फर्किएका एक जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ।
गौरीफन्टा हेल्थ डेस्कका प्रमुख गणेश साउदका अनुसार १० जनामा एन्टीजेन परीक्षण गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो।
भारतबाट आइरहेका शंकास्पद नेपालीहरूमा कोरोना परीक्षण गर्ने काम भइरहेको उनले बताए। सबैमा संक्रमण जाँचका लागि किट प्रयाप्त नरहेको उनले बताए।
‘लक्षण देखिएका शंकास्पदमाथि मात्रै अहिले जाँच गरिरहेका छौँ। प्रत्येक दिन संक्रमण देखा परिरहेको छ,’ उनले भने।
गौरीफन्टा नाकाको हेल्थ डेस्कमा अब २० वटा एन्टीजेन किट मात्रै मौज्दात छन्। किट माग गर्दा पनि अहिलेसम्म प्राप्त नगरेको उनले बताए।
एन्टीजेन पोजेभिट देखिएका बिरामीको पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर काठमाडौँ पठाइएको छ। तर त्यसको रिपोर्ट नआएको उनले बताए।
भारतबाट नेपाल भित्रिने पश्चिमी सीमा नाकामा फर्किने नेपालीको भिडभाड छ। भारतका विभिन्न ठाउँबाट दैनिक सयौँको संख्या मानिस नाका भित्रिरहेका छन्।
भारतका दिल्ली, केरला, महाराष्ट्रलगायत विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको छ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण भयावह बन्दै जाँदा नेपालमा पनि जोखिम बढेको छ।
यसैबीच पश्चिमी सीमा नाकाबाट जाँचबिनै मानिसहरू धमाधम नेपाल भित्रिरहेका छन्।
कोरोना जाँच गर्ने किट नहुँदा भारतबाट आइरहेका मानिसमा कोरोना संक्रमण छ/छैन भनेर परीक्षण गर्न नसकिएको हो।
कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक सय जनाभन्दा बढी मानिस नेपाल भित्रिरहेका छन्।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले किट अभाव हुँदा कोरोना जाँच गर्न नसकिएको बताए।
‘अगाडि कोरोना जाँच हुने गरेको थियो। बीचमा हामीले रोक्यौँ, अहिले संक्रमण देखापरिरहेको छ’, उनले भने, ‘किट स्टक नहुँदा जाँच गर्न सकेका छैनौँ।’
कोरोना संक्रमण जाँच गर्ने एन्टिजेन किट माग गरिएको भए पनि अहिलेसम्म प्राप्त नभएको उनले बताए।
Shares

प्रतिक्रिया