राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ब्रिटिश गोरखामा भर्ती भएका नेपाली नागरिक र गैह्रआवासीय नेपाली नागरिकलाई नागरिकता दिने कुरामा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले ब्रिटिश गोरखा र एनआरएनएहरूलाई नागरिकता दिने विषयमा स्पष्ट धारणा सरकारले बनाउनुपर्ने बताए।
नेपाली नागरिक अनागरिक नहुन् भन्ने सबैको चाहना रहेको र विदेशी नागरिकहरूलाई नेपालको नागरिकता दिनेकुरा सस्तो बनाउन नहुने उनको भनाई थियो।
सभापति खतिवडाले भने, ‘हाम्रो चाहना पनि नेपाली नागरिक अनागरिक नहुन्, अन्य विदेशीहरुलाई खुला पनि नगरौँ। हामी सबैको चाहना पनि त्यही हो। त्यही धाराणासाथ त्यो विधेयक अघि बढाउने प्रयास गरेका छौँ। हामी चाहे ब्रिटिश गोरखाका नेपाली नागरिक वा एनआरएनए नेपाली हौँ। उहाँहरुको समस्या समाधान गर्न पनि सरकार अघि बढोस्। त्यसलाई कसरी समाधान गर्न सकिन्छ, सरकारको एउटा धारणा आओस्।’
बुधबार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको छ। बिहीबारबाट दफावार छलफल हुने सभापति खतिवडाले जानकारी दिए।

प्रतिक्रिया