राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई दिएका सुरक्षाकर्मी (पीएसओ) आन्दोलन नरोकिएसम्म सरकारले फिर्ता नदिने भएको छ।
राप्रपा, राप्रपा नेपाल लगायत राजावादीहरूले संयुक्त प्रदर्शन सुरु गर्नु अघिल्लो दिन सरकारले उनीहरूलाई दिएका पीएसओहरू फिर्ता गरेको थियो। प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले ब्रिफिङका लागि राजावादी दलका नेताहरूको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता गरिएका बताएका थिए।
तर ब्रिफिङपछि पनि उनीहरूलाई फिर्ता नगरिएको हो। गृहमन्त्री रमेश लेखकले बुधबार राज्य व्यवस्था तथा सशासन समितिको बैठकमा आन्दोलन नरोकिएसम्म उनीहरूको सुरक्षामा खटिएका प्रहरी फिर्ता नहुने प्रस्ट पारेका छन्।
प्रहरीले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा सांसद बुद्धिमान तामाङ, राप्रपाका पूर्वअध्यक्ष एवं सांसद पशुपति शमशेर राणा, पूर्वमन्त्री एवं सांसद दीपक सिंह, पूर्वमन्त्री एवं सांसद विक्रम पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, पूर्व प्रहरी महानिरीक्षकसमेत रहेका राप्रपा सांसद ध्रुबबहादुर प्रधानलगायतका पीएसओ फिर्ता बोलाएको छ।
पूर्वगृहमन्त्रीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको पीएसओ पनि फिर्ता बोलाइएको छ।
राजतन्त्र पक्षधर नेताहरूको लागि खटाइएका सुरक्षाकर्मी राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने गृहमन्त्री लेखकले बताए।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो? भन्दै प्रश्न गरेका थिए।
जवाफमा गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको र आन्दोलन रोक्ने बित्तिकै पुनः खटाइने स्पष्ट पारे।
अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था रहेको भन्दै गणतन्त्र, संघीयता, लोकतन्त्रबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजाने बताए। संविधानका आधारभुत व्यवस्था उल्ट्याउने र संविधान फाल्ने काममा कसैलाई पनि नलाग्न लेखकले चेतावनी दिए।
‘अहिले पूर्वराजावादी संस्थाहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल र संस्थाहरूले गरिरहेको घटनाहरूका बारेमा प्रश्न उठेको छ। मेरो आग्रह के हो भने हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा छौँ। यो संविधान हाम्रा पूर्वजहरूले धेरै त्याग, तपस्या, बलिदान, शाहदत प्राप्त गरेर र हजुर हाम्रो पुस्ताले धेरै ठूलो लगानी, मेहनत गरेर हामी यो ठाउँमा पुगेका छौँ। यो गणतन्त्रबाट पछि फर्किने, संघीयता, लोकतन्त्रबाट पछि फर्किने, समावेशिताबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजान्छ, यसमा हामी सबै स्पष्ट हुन जरुरी छ’, मन्त्री लेखकले भने।
लेखकले थपे, ‘सरकारको धारणा यही हो। गणतन्त्र फाल्न मिल्दैन, हुँदैन। यो संविधान फाल्न मिल्दैन, हुँदैन। त्यसका लागि हुने प्रयत्न निरर्थक छन्। त्यसमा नलागिदिन मेरो सादर अनुरोध छ। सुरक्षाकर्मी फिर्ता गरेको विषय अब हजुरहरूले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरूलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो। यि घटनाहरू भएनन् भने सुरक्षा पुनःस्थापित गरिन्छ।’
Shares

प्रतिक्रिया