राजनीति


मुख्य वाचा बिर्सिएर कांग्रेस-एमाले सरकार चलाउन मस्त भयौँ: गगन थापा

मुख्य वाचा बिर्सिएर कांग्रेस-एमाले सरकार चलाउन मस्त भयौँ: गगन थापा

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १६:२१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस-नेकपा एमालेसहितको सरकार गठन हुँदाको वाचा बिर्सिएको बताएका छन्। बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस-एमाले सरकार चलाउन मस्त भएको बताएका हुन्।  

'कांग्रेस र एमालेलेको सरकार गठन हुँदा संविधान संशोधन गर्ने भनेर ७ बुँदामा बाचा गरियो। वाचा पूरा गरिरहेका छैनौँ,' उनले भने, 'हामी यति मस्त भएका छौँ कि संविधान संशोधनको मुख्य वाचा बिर्सियौँ। यो अलमलबाट बाहिर निस्किएर कांग्रेस एमालले ७ बुँदाअनुरुप संविधान संशोधनका निम्ति तत्काल गर्नुपर्ने काम गर्नुपर्ने छ।'

उनले अहिलेको व्यवस्था नै ठिक भएको भन्दै यसको चालक भने गलत भएको बताए। 'यही व्यवस्था हो, संघीय लोकतान्त्रिक गणतन्त्र नै हो, यही व्यवस्था टिक्छ।  यही व्यवस्था टिकाउँछौँ,' उनले थपे, 'यो व्यवस्थामा केही कमजोरीहरू छन् कमजोरीहरू हामी सुधार्छौँ। सुधार्ने तरिका भनेको संविधान संशोधन गर्छौँ।'
 
उनले गणतन्त्रको हाइवे सुधार्ने र सही बनाउने जिम्मा कांग्रेसको भएको पनि बताए। 

'कांग्रेस पार्टीले जिम्मा लिएर भन्नुपर्छ। सुशील कोइरालाको नेतृत्वमा जारी भएको संविधान भनेको नेपालमा नयाँ हाइवे हो। नयाँ बाटो हामीले सुरु गर्‍यौँ। त्यो हाइवे सुरु गरेको दिन तपाईं हामी सबै खुसी थियौँ,' उनले भने, 'हाइवेमा गाडी आए चालकले चलाए। अहिले गाडीहरू पुरानो थोत्रो देखिएका छन्। गाडीको चालकले गाडी राम्रोसँग चलाउन सकेको छैन। अनि बाहिर बस्ने मान्छेले भनिरहेको छ- यो बाटो नै खराब हो। कांग्रेसले उनीहरूलाई भन्नुपर्छ- बाटो खराब होइन। बाटो नयाँ हो हामीले रोजेको बाटो हो। बाटोमा चलिरहेका गाडीहरूमा समस्या छ। त्यो गाडीभित्र भएको समस्यालाई मिलाउनुपर्छ। त्यो गाडी भनेको एउटा कांग्रेस पनि हो। जुन गाडी पुरानो भएर खराब हुने होइन तर पुरानोले समयअनुसार बदल्नुपर्छ।'

गाडीको चालक बदल्ने कुरा छाडेर, मर्मत संभार गर्ने कुरा छाडेर नयाँ खोज्न लागियो भने अर्को १० वर्ष खेर जाने उनको भनाइ छ।    
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad