राजनीति


नेपालखबर ‘संसदमा म’मा प्रभु साह : संसद् लोकतन्त्रको मन्दिर रहेन, नेताहरूको कठपुतली भयो (भिडिओ)

‘स्वतन्त्र जितेकाले कसैको ह्विप मान्नुपरेको छैन, आनन्द छ’

अनिल यादव
जेठ १९ , काठमाडौँ

रौतहट मौलापुरमा जन्मिएका प्रभु साहको गाउँ बागमती नदी किनारमा छ। काठमाडौँभरको पानी रौतहट भएरै जान्छ। रौतहट बकैया र बागमतीबाट पीडित जिल्ला हो। 

जतिबेला साह राजनीतिमा होमिएका थिएनन्, त्यतिबेला गाउँ दुर्गम र पिछडिएकै कारण त्यहाँका सबल र सक्षम मान्छेहरू गाउँ छाडिरहेका थिए। धेरैजसो वीरगन्जतिर बसाइँ सरिरहेको देखेर साहले मनमनै अठोट गरे– ‘म गाउँबाट भाग्नेलाई देखाइदिन्छु, यो गाउँमा बस्नेहरू असक्षम छैनन्। भाग्नेहरू कायर छन् भन्ने कुरा पुष्टि गरेरै छाड्छु।’ 

त्यसपछि साहले नदीको किनारमा बस्ने ती मान्छेहरूलाई भन्न थाले– ‘तपाईं हामीले चाह्यौ भने जे पनि सम्भव छ। अमेरिका पनि कुनै स्वर्गबाट आएको मान्छेले बनाएको होइन। त्यसैले हाम्रो गाउँ हामी आफैले बनाउनुपर्छ।’

उनले नदीमा बाँध र तटबन्धन सम्भव छ भन्दा सुरुमा मान्छेहरू हाँसे। आधुनिक सडक चाहिन्छ भन्दा कतिपयले उडाए। तर, साह हारेनन्। उनका कुरा सुन्ने र उनलाई पछ्याउनेहरू पनि बढ्दै गए। 

‘जसकारण हामीले बाँध बनाएर छाड्यौँ। बकैया र बागमदी नदी बग्ने ठाउँतिर सयवटा पुल बनायौँ। आधुनिक समाज निर्माण गर्न सडक पूर्वाधार पनि आधुनिक हुन जरुरी छ भनेर रौतहटको जनताकै सहयोगमा ३ सय किलोमिटर नयाँ सडक निकाल्यौँ, त्यो पनि बिनामुआब्जा, बिनाबजेट,’ नेपालखबर विशेष भेन्चर ‘संसदमा म’मा साहले आफ्नो सुरुवाती राजनीति सुनाए। 

त्यसपछि साह देश बदलावको सोच राखेर माओवादी आन्दोलनमा होमिए। त्यतिबेलासम्म माओवादी संसद् र सरकारमा पुग्छ भनेर उनले कल्पनासम्म गरेका थिएनन्। तर, जब ०६३ मंसिर ५ गते जब एकाएक शान्ति सम्झौता भयो, त्यसपछि माओवादी अन्तरिम संसदमा गयो। त्यहीबेला माओवादी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका साहले पनि संसदमा जाने अवसर पाए। 

‘म काठमाडौँमा कानुन पढेको मान्छे हो तर पनि म सिंहदरबार छिरेको थिइनँ,’ साह सम्झन्छन्, ‘एकाएक सिंहदरबार छिर्नुपर्दा अलि असहज भयो। के हो, कसो हो भन्ने कुतूहल पनि भयो। यद्यपि, हामी अन्तरिम संसदमा गयाँै तर त्यो लामो समय चलेन।’

०६४/०६५ तिर मधेशमा आन्दोलनको आगो बलिरहेको थियो। त्यही बीचमा पहिलो संविधान सभा चुनाव भयो। साह रौतहट–३ बाट उम्मेद्वार बने। 

‘मेरो क्षेत्र त्यतिबेला सीमा क्षेत्रमा पर्ने भएकाले त्यहाँ एकदमै प्रतिकूलता थियो,’ साह सम्झन्छन्, ‘हामीमाथि दिनदिनै साांघतिक हमला भइरहेको हुन्थ्यो। त्यहीबीचबाट हामीले संविधान सभाको चुनाव जित्यौँ। देश र जनताका लागि संविधान बनाउँछाँै भनेर संसदमा आयौँ।’

त्यतिबेला साह संविधान सभाको न्याय प्रणाली समितिको सभापति पनि भए। दुनियाँका लागि उदाहरण बन्ने न्यायप्रणाली बनाउने भनेर होमिए। विभिन्न पार्टीका सांसदहरूलाई विश्वासमा लिँदै काम गरिरहेका थिए, तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार नौ महिनामै ढल्यो। लगत्तै माओवादीबाहेकको सरकार बन्यो।

‘तैपनि मेरो समितिमा सर्वसम्मत ढंगले निर्णयहरू पारित गराउन सक्यौँ। प्रतिवेदनहरू बनाउन सक्यौँ,’ साह भन्छन्, ‘संविधान बनाउन भने सकिएन। फेरि असफल भइयो। फेरि चुनावमा जानुपर्ने स्थिति बन्यो। संविधान नबनेपछि जनतामा निराशा भयो। ०७० को चुनावमा यसअघि जितेका ८० प्रतिशत सांसदले चुनाव हारे। म भने मेरो क्षेत्रबाट झन् बढी मत ल्याएर जितेँ। यसपालि जसरी पनि संविधान बनाउनुपर्छ र जनताको संविधान बनाउनुपर्छ भने दृढतापूर्वक कोसिस गरेँ।’

साह मस्यौदा समिति र माओवादीको कानुन विभागको प्रमुख भए। साहलाई लाग्छ, दोस्रो संविधान सभामा जो सांसदहरू संसदमा आए, उनीहरू धेरै उन्मादमा थिए। 

‘पहिलो संविधान सभाका सदस्यहरूले गल्ती गरेका छन्, उनीहरूले गरेको राम्रो छैन भन्दै फेरि शून्यबाट सुरु गर्नुपर्छ भन्न थाले,’ साहको अनुभव छ, ‘सबै उल्टाउनतिर उद्यत भए र नेताहरू पनि त्यसमा प्रेरित हुन थाले। एकखालको प्रतिक्रान्ति नै भयो। जे उद्देश्यको लागि हामी लडेका थियौँ, ती सबै उद्देश्यको हत्या हुन थाले र म छट्पटिन थालेँ त्यतिबेला।’ 

संविधानका लेखनका क्रममा दलतन्त्र हाबी भएपछि लोकतन्त्र आउनेमा साहलाई शंका लाग्यो। 

‘हामी लोकतन्त्रका लागि लडेका थियौँ। तर, जब संविधान लेखन हुन थाल्यो, दलतन्त्र बनाउन थालियो,’ साह भन्छन्, ‘मलाई धेरै ठूलो छटपटाहट भयो। हामी राष्ट्रियताका लागि लडेका थियौँ। तर संविधान लेखन गर्दा अर्को देशको अमेरिकी नागरिकले नेपालको नागरिकता लिने, दुई देशको नागरिकता लिन सक्ने प्रावधान ल्याउन थाले। हामी संघीयताका लागि लडेका थियौँ। दुनियाँमा नभएको ७ सय ६१ सरकार बनाउने कुराले हामीलाई पिरोलिरहेको थियो।’

‘समानुपातिक प्रतिनिधित्वमा जनताको ठूलो त्याग थियो। शासक जातिले समानुपातिकमा आरक्षण पाउन थाले। समानुपातिकमा कसले जित्यो भन्दा अहिले पनि जनताले त्यसको जवाफ पाउन सक्दैनन्,’ लगत्तै उनले थपे, ‘कस्तो प्रणाली हामीले अपनायौँ कि आफैले जन्माएको बच्चालाई नचिन्ने? हामी समानताका लागि लडेका थियौँ। तर संविधान लेखन गर्दा विशेषाधिकार ल्याइयो। सबै भाषाभाषी समान हुनेछन् र फलानो भाषा विशेष हुनेछ जस्तो ल्याइएपछि मलाई त्यहाँ पनि घात भएको महसुस भयो।’

यी तमाम कुरा हेरिसकेपछि साहलाई लाग्यो– जुन उद्देश्यबाट हामी लडेका थियौँ, त्यसमा ठूलो घात भयो। 

‘त्यतिबेला दर्जनौँ कामविहीन संवैधानिक आयोग ल्याइयो, ३१ वटा मौलिक अधिकार ल्याइयो, नभएको कुरा थुपारेर एउटा शब्दजाल बुनेर मान्छेलाई ढाँट्नेबाहेक केही देखिएन,’ साह भन्छन्, ‘म छटपटिन थालेँ। पार्टीमा कुरा उठाउँदा पनि कुनै सुनुवाइ नभएपछि मैले समितिबाट राजीनामा दिएँ। ताकि नेपाली जनतालाई थाहा होस्, यहाँ घात हुँदैछ।’

साह माओवादीबाट जितेर आएको सांसद भए पनि उनले जनतालाई धोका दिनु हुँदैन भनेर संविधान सभामा यसबारे बोल्न खोजे। तर, पार्टीले बोल्न दिएन। त्यसपछि बाहिर भए पनि बोले। माओवादीले उनलार्ई साधारण सदस्यबाटै निकालिदियो। 

‘६०१ मा एउटा प्रभु साह अलगथलग हुँदा कस्तो महसुस भयो होला? मेरो मनोदशा कस्तो भयो बेला?’ त्यो समर्य ेर हेर्दा साहलाई अझै नमिठो लाग्छ। 

त्यसको केही समयपछि माओवादीले फेरि फकायो, साह पार्टीमै फर्किए। 

‘म सहरी विकासमन्त्री पनि भएँ। यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदा कानुनमन्त्री थिएँ। बाबुराम भट्टराई नेतृत्वको सरकारमा पनि छोटो समयका लागि भूमि सुधार मन्त्री भएँ। शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकासमन्त्री,’ उनले सुनाए। 

रौतहटबाट निरन्तर चुनाव जित्ने सांसदमा पर्छन् साह। हरेकपटक मतान्तर बढाएरै चुनाव जित्छन्। तीनपटक पार्टीबाट चुनाव जितेका उनी ०७९ मा भने स्वतन्त्र उम्मेदवारी दिएर बाजी मारे। यसको कथा पनि रोचकै छ।

‘०७४ मा कम्युनिस्ट सरकार बन्यो। चुनाव लडिरहँदा मैले वाचा गरेको थिएँ, हाम्रो छात्राहरूलाई म साइकल दिन्छु, हरेक घरमा ग्यास चुलो र सिलिन्डर दिन्छु,’ साह सम्झन्छन्, ‘तर सरकारले मलाई फेल गराउन खोज्यो। बजेट दिएन। नेता भनेको सधैँ जनताका लागि विश्वास हो, त्यो क्षेत्रको आशा हो। म जनताको शरणमा पुगेँ। जनताकै सहयोग लिएर अभियान चलाएँ, साढे १४ हजार साइकल बँड्न सफल भयौँ। कयौँ नगरपालिकाको मद्दतले २८ हजार घरधुरीलाई ग्यास चुलो र सिलिन्डर बाड्यौँ।’

त्यतिबेला साह नेकपाको मधेस इन्चार्ज थिए। साहका अनुसार मधेसमा कम्युनिस्ट पार्टीलाई काम गर्न प्रतिकूल अवस्था थियो। 

रोचक के छ भने ०७४ मा माओवादी–एमाले गठबन्धन बन्यो। साहले गठबन्धनबाट चुनाव जितेपछि पार्टी एकता भएर नेकपा बन्यो। तर, त्यसपछिका राजनीतिक परिदृश्यहरूले नैतिकताको धरातल नाघेको साहको अनुभव छ। 

‘हाम्रै पार्टीका नेताहरू कांग्रेसलाई प्रधानमन्त्री बनाउन गए। मैले प्रचण्डलाई हस्ताक्षर गरेरै भनेँ– तपाईं प्रधानमन्त्री बन्नुस्,’ साह त्यो क्षण सम्झँदै भन्छन्, ‘तर, उहाँले उल्टै देउवालाई पो अफर गर्नुभयो। मैले विरोध गरेँ। यो त सरासर जनादेश विपरीत कुरा हो। जुन वाचा गरेर हामीले चुनाव जित्यौँ, जसरी कम्युनिस्टको भोटले जित्यौँ, कांग्रेसलाई हराएर आयौँ, अहिले फेरि कांग्रेसलाई प्रधानमन्त्री बनाएर कुन नैतिकताले जाने? म स्वीकार्दिनँ भन्दा मेरै पद खत्तम भयो। यद्यपि मलाई ग्लानि भएन।’

केही दिनपछि पार्टी फुटेर सर्वोच्च अदालतकै आदेशबाट पुरानै नेकपा एमाले र माओवादी ब्युँतियो। एमालेले पुरानो विधान ब्युँताएपछि माओवादी नरहेको भन्दै उनले पार्टी छाडे। 

‘हामी गैरसांसदकै रूपमा रह्यौँ,’ साह भन्छन्, ‘पछि एमालेले हामीसँग वाचा गर्‍यो कि हामी नेकपाकै हिस्सा हो। विधान अर्कै बनाउँछाँै भनेर विधान अधिवेशन गर्‍यो। त्यसमा नेकपाको लोगो ल्यायो। माओवादीको सदस्यले एमालेको सदस्यको हैसियत प्राप्त गर्ने प्रावधान बन्यो। जिम्मेवारी पनि एकताकै भावमा प्राप्त गर्ने वाचापछि हामी पछिल्लो चरण एमाले जोडिन पुग्यौँ।’

०७९ मा चुनावमा आउँदा प्रचण्ड–देउवाले पाँच दलीय गठबन्धन बनाउँदा ओलीले सात दलीय गठबन्धन बनाए। साहलाई यो पचेन। उनलाई लाग्यो–यसरी दलीय सिस्टमले देशलाई केही गर्दैन। 

‘यो नेताहरूको अघोषित राजतन्त्र हो,’ साह भन्छन्, ‘दलतन्त्रले जनतालाई कल्याण गर्दैन। यो व्यवस्था फाल्नुपर्छ, खारेज गर्नुपर्छ, नयाँ शिराबाट देशलाई प्रशिक्षित गर्नुपर्छ भनेर मैले एमाले छाडेँ। एमाले र ओलीबाट देश चल्दैन भन्ने लागेर मैले चुनावको नोमिनेसनकै दिन एमालेको टिकट फालिदिएँ। मसँग भएका अरु साथीहरूले पनि छोडिदिए। हामीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्यौँ।’

अब प्रभु साहका दिन गए भनेर धेरैले अनेक टिप्पणी गरे। तर प्रभु जित्नेमा ढुक्क थिए। नभन्दै जनताले झन् बढी भोट दिएर जिताए। 

‘मलाई विश्वास के छ भने यो सिस्टम भनेको लोकतन्त्र त हुँदै होइन, संसदको सर्वोच्चता हुँदै होइन,’ उनले भने, ‘संसद् भनेको त दलको लगौँटी हो। नेताहरूको कठपुतली हो। जसरी पञ्चायत कालमा पञ्चहरू राजाको कारिन्दा थिए, त्यसैगरी अहिले अघोषित राजा बनेका नेताहरूको कारिन्दा कार्यकर्ता छन्। यसको मलाई राम्रो हेक्का छ।’

चारपटक लगातार सांसद बनेका साहलाई लाग्छ, अहिलेको नेपालको संसद् भनेको दलको कारिन्दा हो। यहाँ दलको आदेशमा हिड्नुपर्छ। 

‘यो संसदीय राजनीति भनेको जनतालाई ठग्ने हो,’ उनी भन्छन्, ‘टाउको लोकतन्त्रको देखाएर नेतातन्त्र र लुटतन्त्रको अभ्यास गर्ने हो। नेपालमा ठूलो ओहोदाका मान्छेले भ्रष्टाचार गर्ने र विदेशमा लगेर थुपार्ने गर्छन्। हिजो पनि राजामहाराजा थिए तर लुटेर देशमै राख्थे तर आजका नयाँ राजा महाराजाले लुटेर विदेश लाने गर्छन्। दलाल भगौडाहरूको शासन हो यो। यी तमाम समस्याहरू हामी संसदबाट बोलेर जनताको आँखा खोल्न जरुरी छ।’

साह अहिले आम जनता पार्टीको अध्यक्ष छन्। जनतालाई लोकतन्त्रको मालिक बनाउन आफूले यो पार्टी खोलेको उनको दाबी छ। 

‘हामीकहाँ दुई किसिमका जनता भए, एउटा खास, अर्को आम,’ उनी भन्छन्, ‘खास भनेको पहुँचवाला। आम भनेको पहुँच नभएको। हामी पहुँच नभएका आम जनताका लागि केही गर्नुपर्छ भनेर आम जनता पार्टी बनाएका हौँ। लोकतन्त्रमा जनतालाई मालिक बनाउनुपर्छ भन्ने हो। जनताको गणतन्त्र बनाउन अब हामी लड्छौँ।’

यसपटक स्वतन्त्र सांसद जितेपछि पार्टीको आदेशमा हिँड्नु नपर्दा साहलाई आनन्द महसुस भएको छ। 

भन्छन्, ‘अहिले जनताको हकमा बोल्न पाइरहेको छु। हिजो पार्टीको आवाज बोल्नुपर्थ्यो, नबोल्दा अनुशासनविपरीत हुन जान्थ्यो। आज कसैको ह्विप छैन।’

साह संसदलाई लोकतन्त्रको मन्दिर मान्न तयार छैनन्। 

‘संसद्ण् भनेको ताली बजाउने ठाउँमात्रै त हो,’ उनी हाकाहाकी भन्छन्, ‘त्यसैले यो संसदलाई लोकतन्त्रको मन्दिर, लोकतन्त्रको सर्वोच्च निकाय भन्नु भनेको ठूलो भ्रममा पर्नु हो। नेपालको संसदीय व्यवस्था लोकतन्त्र होइन, देखाउन दाँत हो। यसमा कुनै अन्यौलमा नपर्नुस्।’

नेपालखबर ‘संसदमा म’ यस अंकमा हेर्नुहोस् सांसद प्रभु साहको अनुभूति : 

फोटा/भिडिओः सरोज नेपाल/सौगात दाहाल
 

जेठ १९, २०८२ सोमबार २०:५८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad