राजनीति


कांग्रेस बैठकमा देउवा: राजावादी योजनाबद्ध ढंगले आए, हामी पनि गम्भीर हुनुपर्‍यो

कांग्रेस बैठकमा देउवा: राजावादी योजनाबद्ध ढंगले आए, हामी पनि गम्भीर हुनुपर्‍यो

नेपालखबर
जेठ १९, २०८२ सोमबार १३:५०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरू योजनाबद्ध ढंगले आएकोले गम्भीर हुनुपर्ने बताएका छन्। आफ्नै निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएर राजावादीको पछिल्लो सक्रियताबारे उनले ब्रिफिङ गरेका हुन्। 

बैठकमा सहभागी एक नेताका अनुसार देउवाले राजावादीको पछिल्लो प्रदर्शन गम्भीर हुने खालको भएको बताएका थिए। 

'राजावादीहरू सतर्कता अपनाउँदै, गम्भीर ढंग र योजना बनाएर लागेका छन्,' देउवालाई उदृत गर्दै ती नेताले भने, 'हामीले पनि यस विषयमा गम्भीर हुनुपर्‍यो।' 

आजको बैठकले गणतन्त्रको पक्षमा काठमाडौँमा आमसभा गर्ने निर्णय पनि गरेको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। 

'संविधानको पक्षमा पक्षमा सभा गर्ने भन्ने भएको छ। मिति र स्थान चाहिँ आगामी बैठकले तय गर्नेछ,' उनले नेपालखबरसँग भने। 

बैठकमा पार्टीको क्रियाशील सदस्यतादेखि भ्रातृ संस्थाको अधिवेशन हुँदै राजावादीको प्रदर्शनलगायतका विषयमा छलफल भएको नेताहरूले बताएका छन्। 

जेठ १५ गते गणतन्त्र दिवसकै दिन नेकपा एमालेले उत्सव भन्दै काठमाडौँमा झाँकीसहितको र्‍याली निकालेको थियो भने राजावादीहरू पनि त्यही दिनदेखि गणतन्त्रको विरोधमा प्रदर्शन गरिरहेका छन्। सत्ता नेतृत्वकर्ता नेकपा एमालेले गणतन्त्रको पक्षमा विभिन्न कार्यक्रम गरेसँगै सत्ता साझेदार कांग्रेसले पनि संविधान र गणतन्त्रको पक्षमा सभा गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad