नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालको संविधानले सरकार सञ्चालनका लागि बनाएको संयन्त्र र कांग्रेसको विधानले पदाधिकारी बैठकको निर्णय नचिन्ने भए पनि राजनीतिमा यही प्रवृत्ति हाबी भइरहेको टिप्पणी गरेका छन्। कांग्रेस पाँचथरले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा भित्तेपात्रो विमोचनलाई सम्बोधन गर्दै महरले यस्तो बताएका हुन्।
दुर्भाग्यवश सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्रलाई अगाडि सारिएको र त्यो प्रभावकारी हुन नसकेको उनले बताए। ‘यस्तो संयन्त्रलाई नेपालको संविधानले चिन्दैन। तर, दलहरूको सहमतिको आधारमा संयन्त्र बन्यो। ठिक छ। बनेको संयन्त्रले राम्रोसँग काम गर्नुपर्नेमा जिम्मेवारी बहन गर्न सकेको छैन,’ उनले भने।
संयन्त्रले प्रमुख सत्तारुढ दल कांग्रेसको ओजलाईसमेत सम्बोधन गर्न नसकेको उनको आरोप छ। ‘कांग्रेस मुलुककै ठूलो राजनीतिक दल हो। एकल बहुमत नहुँदा राजनीतिक अस्थिरतालाई स्थिर गतिमा लैजान कांग्रेसले गठबन्धन गर्नुपर्ने बाध्यात्मक अवस्था छ। तर, वर्तमान संयन्त्र यो मर्मलाई बुझेर अगाडि बढेजस्तो देखिँदैन। संयन्त्रले कांग्रेसको ओजलाई बुझ्न सकेको छैन। प्रभावकारी काम पनि गर्न सकेको छैन’,महरले टिप्पणी गरे।
यस्तै उनले पार्टीभित्रको पदाधिकारी बैठकको औचित्यमाथि समेत प्रश्न उठाएका छन्। उनले करिब एक वर्ष हुँनै लाग्दा पनि केन्द्रीय समिति बैठक बस्न नसकेको र पदाधिकारी बैठकका निर्णयलाई कांग्रेसको विधानले नचिन्ने भएकाले त्यसको औचित्यमाथि प्रश्न उठाए।
‘केन्द्रीय समिति बैठकको नियम उल्लंघन गरेर बारम्बार विधानले नचिन्ने पदाधिकारी बैठकको निर्णय भन्दै बाहिर आउनु दुर्भाग्यपूर्ण छ, यो लोकतान्त्रिक व्यवस्थाका लागि सुखद पक्ष होइन,’ महरले भने, ‘प्रजातान्त्रिक पार्टीमा प्रजातान्त्रिक पद्धति अनुसार नै निर्णय हुनुपर्छ। केन्द्रीय समिति बैठक र कार्य सम्पादन समितिको बैठकबाट पार्टीका निर्णय अगाडि बढ्नुपर्छ।’
पदाधिकारी बैठकबाट पार्टी अगाडि बढाइ १५औं महाधिवेशनलाई प्रभावित पार्ने खेल भइरहेको महरले आरोप समेत लगाए। आफ्नो जिम्माको काम कसैले पनि नगर्दा र यसरी पदाधिकारी बैठकबाट पार्टी सञ्चालन गर्दा महाधिवेशन प्रभावित हुने खतरा रहेको उनले बताए।
Shares

प्रतिक्रिया