राजनीति


राप्रपाले राजतन्त्र फर्काउँछु भनेर डर देखाउन खोजेको हो भने म डराएँ : प्रधानमन्त्री

राप्रपाले राजतन्त्र फर्काउँछु भनेर डर देखाउन खोजेको हो भने म डराएँ : प्रधानमन्त्री

नेपालखबर
जेठ १७, २०८२ शनिबार १८:११, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरंकुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व भएको बताएका छन्।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरे।

‘निरंकुश हुकुमी शासनकालमा यस्ता संघ–संगठन खुल्ने स्थिति थिएनन्, अहिले तपाईँहरु पेसागत र व्यवसायिक जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नुभएको छ,’ प्रधानमन्त्री भने, ‘यही जेठ १५ गते हामीले गणतन्त्र दिवसको उत्सव मनायौँ। राजतन्त्र पक्षधरहरुले विरोध प्रदर्शन गरे। उनीहरुलाई जनमत संग्रह भएको लाग्यो रे। तर पहिलो दिन दान (पैसा) दिएर केही मान्छे ल्याइए। दोस्रो र तेस्रो दिन मान्छेहरु घट्दै गए।’

उनले देशलाई पछाडि फर्काउने प्रयास नर्ग समेत समेत राजावादीलाई चेतावनी दिए। ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले मलाई राजतन्त्र फर्काउँछु भनेर डर देखाउन खोजेको हो भने म डराएँ,’ ओलीले भने, ‘अब भयो, पुग्यो, चुप लागेर घरघरमा बसे हुन्छ। अब राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो। अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज। घोडाले लात्ताले हान्न सक्छ, होस् गर।’

प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण त होला ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो भन्ने मनन् गर्न समेत आग्रह गरे। ‘दरबार हत्याकाण्डपछि कुशको बाहुनजस्तो नक्कली राजतन्त्र आयो,’ उनले भने, ‘त्यसले झन् निरंकुशता लाद्यो। जनताको अधिकार खोज्यो। विकास गरेन। देश लुटेर, संविधानभन्दा माथि बसेर पैत्रिक सम्पत्ति थुपार्यो, अनि अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो।’

प्रधानमन्त्री ओलीले थपे, ‘यस्ताहरुले आफूलाई सूर्यका सन्तान भनेर जनतालाई कस्तो बेवकुफ बनाउन खोजिँदैछ। यस्ता कुराहरुसँग हामी सचेत हुनुपर्छ। यो जनताको सामाजिक उत्तरदायित्व हो। आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनुपर्छ। प्रणालीमा केही कुरा फेर्न परे हामी यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेछौँ तर प्रतिगमन अब सम्भव छैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad