राजनीति


परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १७:४२, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच आज हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ। विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेकी मन्त्री डा राणा र चिनियाँ विदेशमन्त्रीबीच सो भेटवार्ता भएको हो।

सौहार्दपूर्ण सो भेटका क्रममा नेपाल चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस बर्ष दुवै देशले मनाइरहेका नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ बर्षका विषयहरूमा कुराकानी भएको थियो। 

भेटकाक्रममा मन्त्री डा राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको प्रसंग उल्लेख गर्दै एक असल मित्रराष्ट्रका रुपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्‍याउँदै आएको सहयोग र समन्वयका लागि विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद ज्ञापन गरिन्। 

साथै आगामी दिनमा पनि आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण एवं प्रत्यक्ष वैदेशिक लगानीलगायतका विविध क्षेत्रहरूमा नेपालमा चीनको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको मन्त्री डा राणाले बताइन्।  

त्यस अवसरमा मन्त्री डा राणाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रही आएको दोहोर्‍याउँदै नेपाली भूमि चीनका विरुद्धमा प्रयोग हुन नदिइने कुरामा नेपाल अडिग रहेको पनि स्पष्ट पारिन्। 

मन्त्री डा राणाले नेपालले हालै सम्पन्न गरेको सगरमाथा संवादमा चीनबाट भएको प्रतिनिधित्वका लागि चीन सरकारलाई विशेष धन्यवाद दिइन्। 

साथै सो भेटकाक्रममा नेपाल चीनबीचमा केही बर्ष यतादेखि भइरहेका उच्चस्तरीय भ्रमणहरूका बारेमा चर्चा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत डिसेम्बरमा गरेको चीनको औपचारिक भ्रमण र त्यस अवसरमा भएका सहमति एवं सम्झौताहरूको कार्यान्वयका बारेमा पनि कुराकानी भएको थियो। 

यस बर्ष नेपाल र चीनले कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ बार्षिकोत्सव मनाइरहेकाले यसै अवसरमा नेपालको भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङलाई मन्त्री डा राणाले निमन्त्रणा पनि दिइन्। दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ बर्षका अवसरमा सन् २०२५ लाई नेपाल भ्रमण बर्षका रुपमा मनाइएकाले यस बर्ष नेपालमा बढीभन्दा बढी चिनियाँ पर्यटकहरूलाई स्वागत गर्न नेपाल इच्छुक रहेको पनि मन्त्री डा राणाले त्यस भेटका क्रममा बताएकी थिइन्। 

भेटका क्रममा चिनियाँ विदेशमन्त्री वाङले नेपालले हालै आयोजना गरेको सगरमाथा संवाद सफलतापूर्वक सम्पन्न गरेकोमा मन्त्री डा राणामार्फत् नेपाल सरकारलाई बधाई ज्ञापन गरे। उनले जलवायु परिवर्तन र यसको असरलाई कम गर्ने तथा वातावरण संरक्षण गर्ने क्षेत्रमा आगामी दिनमा नेपालसँग सहकार्य गर्न चीन तयार रहेको बताएका थिए। 

उनले चीनले नेपाललाई दिँदै आएको सहयोग आगामी दिनमा निरन्तर रहने बताउँदै चीनको समन्वयमा स्थापना हुने मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय संगठनमार्फत् आगामी दिनमा नेपालसँग पनि समन्वयका साथ अघि बढ्न सकिने धारणा राखे। 

विदेशमन्त्री वाङले प्रधानमन्त्री ओलीको चीन भ्रमणका भएका सहमति र सम्झौताहरूको कार्यान्वयन अघि बढाउन मन्त्री डा राणामार्फत् नेपाल सरकारलाई आग्रह गरे। साथै मन्त्री डा राणाले दिएको नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै आफू नेपाल भ्रमणमा आउने बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad