राजनीति


मधेस केन्द्रित पाँच दलले घोषणा गरे ‘संघीय गणतान्त्रिक गठबन्धन’

मधेस केन्द्रित पाँच दलले घोषणा गरे ‘संघीय गणतान्त्रिक गठबन्धन’

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १९:५१, जनकपुरधाम

गणतन्त्र दिवसकै दिन पाँच राजनीतिक दलले ‘संघीय गणतान्त्रिक गठबन्धन’ घोषणा गरेका छन्। बिहीबार जनकपुरधाममा एक समारोहको आयोजना गरी यी दलले गठबन्धन घोषणा गरेका हुन्। 

गठबन्धनमा पूर्वगृह राज्यमन्त्री म. रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको इतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वको नेपाल जनजागृति पार्टी छन्। 

घोषणा समारोहमा पूर्वगृह राज्यमन्त्रीसमेत रहेका नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले मुलुकमा फेरि पनि एकल शासकको अभिलाषा राख्नेहरू सल्बलाएको भन्दै उनीहरूका इच्छा कुनै हालतमा पूरा नहुने बताएका छन्। पछिल्लो समय राजावादीका नाममा प्रतिगामी शक्तिहरू देखिन थालेको भन्दै उनले जनताले प्राप्त गरेका उपलब्धि रक्षाका लागि कुनै हदसम्म जान सक्ने पनि चेतावनी दिए। 

अध्यक्ष अन्सारीले  मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेकोसमेत आरोप लगाए। यी नेताहरू शहीदहरूको बलिदानीलाई सत्तासँग साट्ने काम गर्दै आएको उनको आरोप छ। अन्सारीले कथित मधेशी नेताहरू सत्ता समर्पण र मुद्दा विसर्जनको पथमा गएकोसमेत टिप्पणी गरे। 

यसैगरी, समारोहमा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले गणतन्त्र आएको लामो समय बित्दासमेत शोषित पीडित समुदायले वास्तविक गणतन्त्र महसुस गर्न नसकेकाले गणतन्त्र दिवसकै दिन पारेर गठबन्धन घोषणा गरेको बताए। 

यो गठबन्धन इमान्दार नेताहरूको रहेको पनि उनले दाबी गरे। ठूला मधेशी दलहरूले मधेशी जनतालाई धोका दिँदै आएकाले आफूहरू उनीहरूको गठबन्धनमा नगएर छुट्टै गठबन्धन बनाएको उनको भनाइ छ। 

बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दनकुमार रञ्जनले यो जातिवादी र सामन्तवादी व्यवस्थाको अन्त्य गर्न गठबन्धन बनाउनुपरेको बताए। उनले दलित तथा उत्पीडितहरूमाथि हुने हत्या, हिंसा, बलात्कारलगायत अपराधविरुद्ध संघर्ष गर्न गठबन्धन बनाउने बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad