राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कम्तिमा एक हप्ता काठमाडौँमै बसेर आन्दोलन गर्नेगरी तयारीमा रहन आह्वान गरेका छन्।
बुधबार काठमाडौँमा संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको स्वयंसेवक प्रशिक्षण कार्यक्रममा उनले आन्दोलन पहिलेको जस्तो नहुने भन्दै लामो समयको आन्दोलनको तयारी गर्न समेत आग्रह गरे।
‘हामीले पहिला गरेका आन्दोलन मूल आन्दोलनको बाटो निर्माणका लागि गरेको आन्दोलन थियो,’ लिङदेनले भने, ‘भोलिको आन्दोलन मुल आन्दोलन हो। भोलि सुरु मात्रै हो। हाम्रो आन्दोलन निरन्तर रुपमा रहन्छ। बाहिरबाट आउनुभएका साथीहरुलाई भोलि बेलुका फर्किनेगरी पहिलाको जस्तो बसको, प्लेनको टिकटको व्यवस्था नगर्नुहोला। कम्तिमा एक हप्ता काठमाडौँ बस्नुपर्छ भन्ने सोचका साथ तयारीका साथ यहाँ रहनु होला। बस्ने क्रममा कुनै प्रकारका असुविधा नहोस् भन्नेमा हामी सचेत छौँ।’
राजसंस्था र हिन्दू राष्ट्र पुर्नस्थापनको माग गर्दै विभिन्न राजावादी दल र समूहले भोलिदेखि संयुक्त जनआन्दोलनको मातहत रहेर आन्दोलन गर्दैछन्। राजावादीहरुले गत चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शन भने हिंसात्मक भएको थियो।
Shares

प्रतिक्रिया