नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराउन आग्रह गरेका छन्।
संसद् भवनमा प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक जारी रहँदा प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरेका थिए। उक्त कुराकानीमा प्रचण्डसँग ओलीले संसद् सञ्चालनको वातावरण बनाउन आग्रह गरेपछि त्यसको जवाफमा उनले गृहमन्त्रीको राजीनामा नआइ संसद् बैठक सञ्चालन हुन नसक्ने बताएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालखबरलाई जानकारी दिए।
'प्रधानमन्त्री र प्रचण्डबीच टेलिफोनमा कुराकानी भयो,' विपक्षी दलको बैठकमा सहभागी साहले भने, 'प्रचण्डले प्रधानमन्त्रीलाई भन्नुभयो- गृहमन्त्रीलाई राजीनामा गराएर तपाईंले नै संसद्लाई जानकारी गराउनू।'
विपक्षी दलहरूले आज पनि संसद् चल्न नदिने अडान राखेका छन्।
आजको विपक्षी दलको बैठकले गृहमन्त्रीको राजीनामा नै बटम लाइन भएको निर्णय गरेको छ। 'छलफल जारी रहँदा अध्यक्षज्यूलाई प्रधानमन्त्रीको फोन आयो सदन खोलिदिनू भनेर। अध्यक्षज्यूले गृहमन्त्रीको राजीनामा गराएर तपाईंले सदनलाई जवाफ दिनू यही हो हाम्रो बटम लाइन भन्नुभयो' छलफलमा सहभागी एक सांसदले नेपालखबरसँग भने।
Shares

प्रतिक्रिया