मान्छेको जीवन एउटा यात्रा न हो– कहिलेकाहीँ हिँड्दाहिँड्दै बाटो र गन्तव्य फेरिन सक्छ। विनिता कठायतको जीवनयात्रा पनि कुनै बायोपिकभन्दा कम छैन। मोडैमोड, संयोगैसंयोगले भरिपूर्ण। संघर्ष पनि छ, सस्पेन्स पनि छ, रोमान्चकता छ, उत्सुकता छ, परिवर्तन छ, भावनात्मक गहिराइ छ, प्रेरणा छ र सँगसँगै उनको जीवनका अनेक मोडसँग जोडिएका सहायक पात्रहरू पनि छन्।
कर्णालीको जुम्लामा जन्मिए पनि विनिता काठमाडौँमै हुर्किइन्। राजनीति उनको गन्तव्य थिएन, फिल्ममेकिङ पढ्न मुम्बई गइन्। ७ वर्ष त्यहीँ बित्यो। नेपाल फर्केर फिल्ममै सक्रिय भइरहेकी थिइन्। कोभिड अघितिर फेसन डिजाइनिङ पढ्न यूके जाने तयारीमा लागिन्।
तर, कोभिडले यतै रोक्दियो। रवि लामिछाने कार्यकारी निर्देशक रहेको ग्यालेक्सी टीभीमा पुगिन्।
‘ग्यालेक्सीमा जति एंकर र कार्यक्रम सञ्चालक हुनुहुन्थ्यो। सबैको म ड्रेस डिजाइन गर्थें,’ नेपालखबर विशेष भेन्चर ‘संसदमा म’मा आफ्नो कथा सुनाउने क्रममा विनिताले भनिन्, ‘उहाँहरूले कस्तो लुगा लगाउँदा राम्रो हुन्छ भनेर नयाँ नयाँ एक्सपेरिमेन्ट गर्थ्यौँ। त्यतिबेला महिलाकेन्द्रित ‘पर्खालबाहिर’ कार्यक्रमसमेत निर्देशन गरिरहेको थिएँ।’
डेढ वर्ष रवि लामिछानेसँग काम गर्दा उनको लगाव, प्रभाव र क्रेज देखेर अचम्मित हुन्थिन्। रविलाई भेट्न आउने मान्छेहरूको लाइन र धेरैको समस्या समाधान गरिदिएको दृश्य देख्दा असाध्यै प्रभावित थिइन्।
‘त्यसैले उहाँले नयाँ पार्टी खोल्दा मेरो सहभागिता हुनु सौभाग्यको कुरा थियो,’ विनिताले सम्झिइन्, ‘प्रज्ञा प्रतिष्ठानमा उहाँले राजनीतिमा आउने घोषणाका लागि गरेको कार्यक्रममा जाँदासम्म म राजनीतिमा जाने भन्ने थिएन। तर, उहाँ र उहाँको पार्टीलाई भोट हाल्छु भन्नेचाहिँ थियो।’
उता ०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै थियो, रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनावको तयारी गर्दै थियो यता विनिता ग्यालेक्सीमा काम गरिरहेकी थिइन्। एक रात एक्कासि एउटा कल आयो, जसले विनिताको दिमाग रन्थनियो। एक लयमा हिँडिरहेको जिन्दगीमा एक्कासि अर्को मोड आइदियो।
‘दीपक बोहोरा दाइले एक्कासि राति फोन गरेर ‘पिछडिएको क्षेत्र’बाट समानुपातिकमा नाम राख्नुपर्छ भनेर कुरा गर्नुभयो,’ विनिता सम्झिन्छिन्, ‘मेरो जिजुबुबासम्मको पारिवारिक पृष्ठभूमि राप्रपाको हो। राजसंस्थाको कुरा गर्ने परिवार। दादाको पुस्ता नेपाली कांग्रेस हुनुभयो। मेरो मिश्रित राजनीतिक पृष्ठभूमिमा परिवारले के भन्ने होलान् भन्ने भयो। अझ म कर्णालीको छोरी। दादाको राजनीति गाह्रो पर्ला भन्ने कुरा पनि निस्कियो। त्यसैले रातभरि मैले अरु नै विकल्प खोजेँ। अरु साथीहरूलाई नाम राख्न भनेँ। कसैले मानेनन्। अब आफै होमिनुपर्ने भयो। म भोट हाल्छु पनि भन्ने, सहयोग गर्छु पनि भन्ने अनि साथ नदिँदा त अन्याय हुन्छ भनेर आफै नाम राख्न तयार भएँ।’

तर रास्वपाको समानुपातिक सूचीमा नाम राखे पनि यो कुरा घरमा भन्ने हिम्मत उनमा आएन। समाचारमा नाम आउँदासम्म उनले घरमा भनिनन्। एक दिन एकजना आफन्तले उनलाई भने– ‘तिम्रो नाम रहेछ नि सूचीमा।’
तैपनि उनले स्वीकारिनन्।
‘दीपक बोहोरा दाइहरू डडेल्धुराको हो, त्यतैको कोही विनिता कठायतलाई राखे होलान्,’ उल्टै ढाँट्न खोजिन्।
‘त्यसपछि मैले निश्चल बस्नेत अंकल र स्वस्तिमा खड्का साथीसँग सल्लाह लिएँ,’ विनिताले भनिन्, ‘उहाँहरू दुवैले रवि लामिछानेलाई विश्वास गर्छौ भने आफ्नो मनले भनेको गर भन्नुभयो। बाहिर रहेका एकजना साथीले पनि त्यसरी नै प्रोत्साहित गर्नुभयो। बुबाले पनि रवि लामिछानेको पार्टीमा नाम जोडिएछ भन्नुभयो। बुबा त उत्साहित पो हुनुभएको रहेछ। बुबा आफैले जागिर छोडेर आऊ, भोट हाल्न जानुपर्छ भन्नुभयो। त्यसपछि म खुसी भएँ। ’
लगत्तै जागिरबाट राजीनामा दिएर सिधै जुम्ला पुगिन् विनिता।
‘तर, मसँग मेरो मुवा जुम्ला जानुभएन। दादाले त्यहाँ कांग्रेसको राजनीति गरिरहनुभएको थियो। उहाँले भोट माग्न गए घर छोडिदिन्छु भनेपछि मुवा जानुभएन,’ विनिताले सम्झिइन्, ‘मुवालाई मेरो छोराको राजनीतिक भविष्य छ भन्ने लागेर पनि होला, उहाँ जानुभएन। बुबा चाहिँ जानुभयो। म पनि परिवर्तन घरबाटै ल्याउने हो भनेर हिँडेँ। सायद नेपाली कांग्रेसबाट राम्रै काम गरेको भए मैले अर्को पार्टी रोज्नुपर्ने अवस्था हुन्थेन पनि होला।’
तर, जब उनी जुम्ला ओर्लिइन्, २६ वर्षीया उनलाई नेता हुन् भनेर कसैले पत्याएनन्।
‘जुम्लामा प्लेनबाट ओर्लिनेबित्तिकै मलाई पागल भन्न थाले,’ विनिता सम्झिन्छिन्, ‘यसले गर्दा यसको दाइको राजनीतिक भविष्य बिग्रियो, यो हावा केटी हो भनेर सबैजनाले यति भने कि म चन्दननाथ मन्दिरमा गएर पनि रोएको थिएँ। सुरुमा कोही हुनुहुन्थेन सपोर्ट गर्ने, दुइचारजना भाइहरूबाहेक।’

गाउँगाउँ पुग्दा उनलाई थाहा भयो, त्यहाँका मतदातालाई कसलाई भोट हाल्दैछु भन्ने नै थाहा रहेनछ। नेताहरू भोट माग्न जाँदा पनि हावादारी गफ दिने रहेछन्। तिम्रो घरमा बाटो ल्याइदिन्छु, यो ल्याइदिन्छु, त्यो ल्याइदिन्छु भन्दै आश्वासनको पोको बाँड्ने रहेछन्। जबकि सांसदको काम सदनमा गएर कानुन बनाउन लाग्ने हो, बजेटमा उनीहरूको प्रत्यक्ष अधिकार हुन्न।
विनिता जब गाउँ गाउँ पुगिन्, विस्तारै जनताले प्रेम देखाए, भोटको आश्वासन दिए। विनिताका अनुसार कर्णालीबाट रास्वपाको अपेक्षित मत नै आयो। तर, अझै सांसद बन्ने/नबन्ने टुंगो भइसकेको थिएन। सबै पार्टी नेताका घर र कार्यालय धाइरहेका थिए तर उनी मौन थिइन्। एक दिन जब पार्टी कार्यालय पुगिन्, त्यसपछि सांसद बन्नेमा ढुक्क भइन्।
‘म पार्टी कार्यालयको तल उभिइरहेको थिएँ,’ विनिताले सुनाइन्, ‘आफै सर (रवि लामिछाने) आएर ‘सब ठिक छ नि? ल मिलेर काम गर्नुपर्छ, राम्रो काम गर्नुपर्छ, देशको लागि काम गर्नुपर्छ’ भनेपछि अब चाहिँ कन्फर्म सांसद हुने भएँ भनेर एकदमै उत्साहित हुँदै घर गएँ। पापासँग अँगालो हालेर रोएँ। किनभने महिलालाई डोमिनेट गर्ने जुन समाजबाट म आएको थिएँ, त्यहाँ मेरो जस्तो सहयोगी बुबा पाउनु साह्रै ठूलो कुरा थियो।’
सांसद भएपछि कर्णालीको विकासमा कायापलट ल्याउने विनिताको सपना थियो। तर, सांसद बनेपछि यथार्थ बुझेको बताउँछिन् उनी।
‘म सांसद भएको भए त यस्तो गर्थेँ, त्यस्तो गर्थेँ भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘त्यस्तो पावरमा बसेको मान्छेले त जे चाह्यो, त्यही हुन्थ्यो भन्ने लाग्थ्यो। म त्यसरी नै तयार थिएँ। अब म सांसद भएँ, अब एक कल गरेर यति धेरै काम गर्छु, पूरा कर्णालीका लागि काम गर्छु भन्ने थियो। तर, त्यस्तो होइन रहेछ।’
पछिल्लो समय सदन र समितिमा विनिताले खरो उपस्थिति जनाइरहेकी छिन्। यद्यपि उनी सांसद भएर आफूले गर्व गर्नलायक काम गर्न नसकेको बताउँछिन्।
‘म सांसद भनेर गर्व गर्ने र मै हुँ भन्ने विषय छँदा पनि छैन। लाजैमर्दो कुरा छ,’ उनी भन्छिन्, ‘प्रधानमन्त्रीज्यूले पनि म प्रधानमन्त्री हुँ भन्ने अवस्था छैन। अवस्था त लाजमर्दो नै छ। यहाँ नेताहरू बच्चा त हो तिमीहरू, हामीले त यति ढुंगा गर्यौँ, मुढा गर्यौँ, जेल गयौँ, आयौँ, तिमीहरूले के गर्यौ भन्छन्। तर यथार्थ त हामी ढिला जन्मिएको हो नि। ढुंगामुढा गरेको बेला, परिवर्तनका लागि गरिएका आन्दोलनका बेला जन्मिएको भए त हामी पनि जान्थ्यौँ होला नि।’

विनितालाई लिएर संसद् र संसदबाहिर पनि कतिपयले अनेक टिप्पणी र गसिप गर्छन्। कसैलाई उनी जिमखाना गएको मनपर्दैन, सदन जान छाडेर जिम गई भन्दिन्छन्। कसैलाई उनी पुरुष सांसदसँग हिँडेको, खाजा खाएको मनपर्दैन, सम्बन्ध जोडिदिन्छन्। र, सांसद भएपछि विनितालाई सबैभन्दा बढी चित्त पनि यस्तै कुरामा दुखेको छ।
‘कसैको छोरी, कसैको सांसद, कसैको श्रीमती, कसैको साथी हुनुभन्दा अगाडि म मान्छे हो नि,’ उनी भन्छिन्, ‘मान्छेमा सेल्फ केयर भन्ने पनि त हुन्छ होला। अझ म त रोगी छु। मलाई चिन्नेहरूलाई थाहा छ, मलाई स्वास्थ्य समस्या भइरहन्छ। अब म सधैँ रोगी नै भएर बस्नु त? कतिपटक म सदन गइरहेका बेला गाह्रो भएर नर्भिक हस्पिटलमा सलाइन चढाउन पुगेको उदाहरण पनि छ। म रोगी भइराखेँ भने त मैैले सांसदमा आवाज उठाउन नि सक्दिनँ होला। अस्ति एक दिन मेरो नाम नै छुट्यो किनभने मलाई माइग्रेन अट्याक भयो। त्यसकारण जिम जानु मेरो नितान्त व्यक्तिगत कुरा हो।’
लगत्तै उनले थपिन्, ‘छोरी मान्छे राजनीतिमा या संसदमा हुँदाखेरीको सबैभन्दा नराम्रो लागेको विषय भनेको म केटा भएको भए कोही पुरुष सांसदसँग खाजा खाँदा या नजिक हुँदा या कुनै ठाउँमा गएर भेटेको भए केही हुँदैन थियो। तर, महिला सांसद हुँदा नाम जोडिदिने गर्छन्। सदनभरि हल्ला चलाइदिने गर्छन्। यसरी त को राजनीति गर्न आउँछ? यस्तो कुरा मेरा बाआमाले सुन्नुभयो भने नयाँ आउने छोरीहरूलाई कसैले जान दिन्छ त? को सांसद कोसँग बोल्यो, चुग्ली लगाउने ठाउँ हो र संसद्?’
आफ्नो निजी जीवनमाथि अनावश्यक टिप्पणी गरेको उनलाई रत्तिभर मनपरेको छैन।
‘म अविवाहित छु, मैले ब्वइफ्रेन्ड बनाउन नि पाएँ, ब्वइफ्रेन्ड बनाएर डेट जान नि पाएँ,’ सदनमा झैँ विनिता कठायत प्रष्ट बोल्छिन्, ‘सदनमा दुइचारजना अविवाहितहरू हुनुहुन्छ, मैले भन्न त मिल्दैन तर पनि भनिहालेँ– डेट गर्नुस्, केही फरक पर्दैन। कसैको जीन्दगी बर्बाद नगर्नुस् तर आफ्नो खुसी नमार्नुस्।’
हेर्नुहोस्, नेपालखबर ‘संसदमा म’को यो अंकमा विनिता कठायतको अनुभूति :
फोटो/भिडिओ : सरोज नेपाल/सौगात दाहाल

प्रतिक्रिया