राजनीति


निकिता पौडेलको गुनासो: जिउँदो लास भएर हिँडेछु

निकिता पौडेलको गुनासो: जिउँदो लास भएर हिँडेछु

फाइल तस्बिर


नेपालखबर
जेठ १२, २०८२ सोमबार १६:१३, काठमाडौँ

सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालतको आदेश सदर गर्दै सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सुनाएपछि उनकी पत्नी निकिताले आफू जिउँदो लास भएर हिँडेको बताएकी छन्। 

सर्वोच्च अदालतको आदेश आएको दिनको आफ्नो भोगाइ भन्दै सामाजिक सञ्जालमा लेख्दै उनले केही प्रमाण नभेटिँदा पनि रविविरुद्ध मुद्दा लगाइएको भनेकी छन्।  

यस्तो छ उनको स्टाटस 

त्रास अझै बाँकी छ ...!

जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन। न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगें। बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे-जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन मनले। अन्याय हुँदैन भन्ने लागिरह्यो।

हाम्रो तर्फबाट बहस राम्रो भयो। बेञ्चका हरेक प्रश्नको कानुन व्यवसायीको तथ्यपूर्ण जवाफ। बहसले तथ्य पक्रेर आदेश गर्न बेञ्चलाई प्रशस्तै आधार दिएको ठानेँ। न्यायप्रतिको विश्वास झनै बढ्यो।

करिब दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहे। केहीपछि सह–रजिष्ट्रार (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो। केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो।

‘एकैछिन है ...’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन्। आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए।

‘श्रीमान् त निस्किनु भयो’ भनेर एकजना पत्रकार भाइले जानकारी दिए। त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन प्रवक्ता। बाहिर निस्किँदा एकजना आफन्तले फोनमा ‘नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढें’ भन्नुभयो। म अदालतमै छु। केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु। म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारीक रुपमा नसुनाउने। अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार। अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ।

शुक्रबारको तनाब, अनिन्द्रा र रुवाई ...! जिन्दगीकै अत्यन्तै कठिन दिन।

भोलिपल्ट (शनिबार) भैरहवा जानु नै थियो, गएँ। अन्यायको शिकार भएकी म, कसरी तंग्रिएर हिँडे होला। कसरी उहाँको अगाडि पुगेँ थाहा छैन। सायद जिउँदो लास भएर हिँडेछु। उहाँको अगाडि पुगेपछि मात्रै होस खुलेजस्तो भयो। साँझ काठमाडौँ फर्किए।

केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमान्‌विरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौँ?

गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ। थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad