भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप लागेका गृहमन्त्री रमेश लेखकमाथि नेकपा एमालेको सचिवालय बैठकमा पनि प्रश्न उठेको छ।
आइतबार दिउँसो एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवस भव्य मनाउन र राजावादीहरूका गतिविधिलाई निस्तेज पार्ने विषयमा पार्टी पंक्ति परिचालन गर्न भन्दै निर्देशन दिएका थिए।
तर, त्यसै बीचमा एमाले सचिव योगेश भट्टराईले गृहमन्त्री जोडिएर आएको भिजिट भिसा प्रकरणबारे जिज्ञासा राखेका थिए। उनले यसअघि संसदमा रवि लामिछानेका सन्दर्भमा लेखकले बोलेको सन्दर्भसमेत उठाउँदै भने, ‘पहिला उहाँ (लेखक) आफैले बोल्नुभएको रहेछ, प्रश्न उठेपछि राजीनामा दिनुपर्छ भनेर। अहिले उहाँकै विषयमा यस्तो कुरा आइरहेको छ। यो के हुन्छ?’
अख्तियारको निष्कर्ष : तीर्थराज प्युसा मात्र हुन्, भिजिट भिसाको जालो ‘उच्च तह’बाटै सञ्चालित छ
सुरुमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले ‘पत्रपत्रिकामा आएको समाचारकै आधारमा राजीनामा दिनु नपर्ने’ भन्दै विषयवस्तुमा बिट मार्न खोजे।
त्यसपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले थपे, ‘यति गम्भीर प्रकरणमा नाम आइसकेपछि हामीमाथि पनि प्रश्न त उठ्छ होला नि?’
त्यसपछि ओली केही खुले।
‘हो, उहाँले पहिला त्यस्तो बोल्नुभएको रहेछ। त्यसले हामीलाई केही अफ्ठ्यारो त भएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘तर, कर्मचारीमाथि कुनै अख्तियारप्राप्त निकायले छानबिन, अनुसन्धान गर्छ भने त्यो गर्न दिनुपर्छ। मन्त्रीसम्म त्यो कुरा (छानबिन) आएकै छैन भने राजीनामा दिनुपर्छ भन्ने कुरा गर्नु उचित हुँदैन। संसारमा यस्तो कहीँ पनि हुँदैन। यसरी त राज्य पनि चल्न सक्दैन।’
त्यसपछि अन्य नेताहरू पनि बोल्न थाले। केहीले गृहमन्त्री लेखकमाथि उठेका प्रश्नबारे सरकारको नेतृत्व गरिरहेको नाताले एमाले स्पष्ट हुनुपर्ने धारणा राखे भने केहीले यो कांग्रेसको मामला भएकाले उसैले निर्णय लिनुपर्ने भन्न थाले।
त्यहीबीचमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको पदाधिकारी बैठक बोलाएको प्रसंग उठ्यो। कांग्रेस पदाधिकारी बैठक सोमबार बिहान ९ बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा बोलाइएको छ।
अनि पाण्डेले नै भने, ‘अब कांग्रेसकै पदाधिकारीको बैठक बस्दै रहेछ। उसले नै भनोस् न त, जे भन्ने हो। अहिले हामी बोल्नु उचित हुँदैन होला।’
त्यसपछि ओलीले पनि कुराको समापन गर्दै भने, ‘अहिलेसम्मको अनुसन्धान मन्त्रीसम्म आइपुगेको भन्ने मेरो जानकारीमा छैन। प्रश्न उठेकै आधारमा केही गर्नुपर्ने हो भने पनि जे गर्छ, कांग्रेसले गर्छ।’
एमाले सचिवालय बैठक सकिएलगत्तै ओलीलाई भेट्न कांग्रेस सभापति देउवासहितको टोली बालुवाटार पुगेको थियो। देउवाका साथमा थिए, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र कृषिमन्त्री रामनाथ अधिकारी।
एमाले तर्फबाट अर्थमन्त्री विष्णु पौडेल र उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए।
ओलीको सचिवालयले यो बैठक नियमित प्रकृतिको भएको र आगामी आर्थिक वर्षको बजेट निर्माणको काम अन्तिम चरणमा रहेकाले त्यस विषयमा समान धारणा बनाउने विषयमा छलफल भएको जनाएको छ।
के गृहमन्त्रीका विषयमा केही कुरा भएन त?
‘त्यो त यस्तो बैठकमा हुने कुरा नै होइन र यसमा कुरा गर्नुपर्ने नै केही छैन,’ प्रधानमन्त्रीको सचिवालयका ती सदस्य भन्छन्, ‘अधिकारप्राप्त संवैधानिक निकाय (अख्तियार) ले अनुसन्धान गरिरहेको विषयमा राजनीतिक बैठकमा छलफल हुनु आवश्यक नै छैन।’
राजीनामा दिनुपर्ने कुरा उठिरहेको छ नि?
‘छानबिनले मन्त्रीलाई पनि शंकाको घेरामा देखायो भने राजीनामा दिनुपर्ला,’ प्रधानमन्त्रीका ती सहयोगी भन्छन्, ‘मातहतका कोही कुनै कर्मचारी छानबिनमा परे भन्दैमा मन्त्रीले नै छाड्नुपर्ने कुरा त कति व्यावहारिक होला र?’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुखसहित कम्तीमा ५ जना कर्मचारी अहिले अख्तियारको अनुसन्धानमा तानिएका छन्। युरोप र खाडीका विभिन्न श्रम गन्तव्यमा नेपाली युवालाई श्रम इजाजतबिनै पठाउने गिरोहमा ती कर्मचारी सामेल भएको अख्तियारको आशंका छ।
विमानस्थलको अध्यागमन कार्यालय प्रमुखबाट झिकेर गृह मन्त्रालय सरुवा गरेकै भोलिपल्ट सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको थियो। साथै, अख्तियारले अध्यागमनसम्बन्धी विवरण रहेको कम्प्युटर र सर्भरमा रहेका विवरण पनि अनुसन्धानका लागि झिकाएको छ। आशंकित कर्मचारीका मोबाइल डिजिल फरेन्सिक ल्याबमा पठाइएको छ। ती कर्मचारीहरूलाई हाजिरी जमानीमा छाडिएको छ।
सहसचिव भट्टराई लेखकले गृह मन्त्रालय सम्हालेपछि नै अध्यागमन कार्यालय प्रमुख भएर गएको देखिएको छ। उनी गत वर्षको असोज २३ देखि उक्त जिम्मोवारीमा रहेको अभिलेखमा देखिन्छ। जबकि, उनी यसअघि जहाँ पुग्यो, त्यहीँ कुनै न कुनै अनियमितताको आरोपमा मुछिएको पाइन्छ। २०७२ सालको भूकम्पका पीडितलाई बाँडिएका त्रिपालमा समेत उनले भ्रष्टाचार गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको थियो।
यस्तै मन्त्री लेखकको निजी सचिवालयका अधिकृत विमल पौडेल त यसअघि प्रहरीले अनुसन्धान गरी मुद्दा चलाएको भिजिट भिसा प्रकरणका अभियुक्त नै रहेको खुलेको छ। अनुसन्धान अवधिभर शक्तिको आडमा पक्राउ नै नपरेका उनी निकै पछि मात्र काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए। अदालतले उनका लागि एकै दिनमा बयान, बहस र थुनछेक आदेश गरी एक लाख धरौटी राखेर छुट्ने व्यवस्था मिलाइदिएको थियो।
सचिवालयदेखि ‘आकर्षक’ मानिएका गौँडाहरूमा मन्त्री लेखकले यस्तै विवादित व्यक्तिहरू खटाएका कारण पनि उनी अहिले नैतिक दबाबमा छन्। शेखर कोइरालालगायत कांग्रेस नेताहरूले नै उनको राजीनामा मागिरहेका छन्।
Shares

प्रतिक्रिया