नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले भ्रष्टाचार आरोप लागेका पार्टीका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्। पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई पत्र लेख्दै पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न विवादमा मुछिएका तथा भ्रष्टाचार आरोप लागेका मन्त्रीलाई हटाउन माग गरेका हुन्।
'म आग्रह गर्दछु- पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका, वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गरियोस्' उनले भनेका छन्।
उनले कांग्रेसबाट सरकारमा रहेका गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डेको नाम नै तोकेर कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
'गृह मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाइसकेको छ। प्रकाशित सार्वजनिक समाचार अनुसार, गृहमन्त्री रमेश लेखक (माननीय रमेश लेखकको भद्रता सम्झदा यो होइन होला भन्ने एउटा मनको छेउमा लागि रहेकै भएतापनि) को सचिवालय नै मानव तस्करी र आप्रवासन दुरुपयोगमा संलग्न देखिएको छ भनिएको छ, जुन राज्यको सबैभन्दा संवेदनशील निकायहरूमध्ये एकमा देखिएको गम्भीर संकट हो,' लेखकबारे उनले पत्रमा लेखेका छन्,'यस्तोमा गृहमन्त्रीको नैतिक जिम्मेवारी उठ्नुपर्ने हो। यो गृह मन्त्रालयको नेतृत्व मात्र होइन गृह मन्त्रालय संरचनाप्रतिको कानुनी प्रश्न हो।'
त्यस्तै उनले पर्यटनमन्त्री पाण्डेबारे भनेका छन्, 'संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री वद्री पाण्डे को नेतृत्वमा रहेको मन्त्रालयले देशको पर्यटन क्षेत्रलाई नै तहसनहस बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था हेर्दा यस्तो लाग्छ कि त्यो ठाउँ तस्करहरूको केन्द्र बनेको छ। विमानस्थलभित्र रहेका दुकान, सेवा प्रदायक, लोडर, क्लिनिङ कम्पनी तथा अन्य धेरै आउटसोर्स कम्पनीका सञ्चालकहरू नै सुन र विदेशी मुद्रा तस्करीमा संलग्न रहेको प्रमाणित भइसकेका मानिसहरूको एप्रोन र जहाजसम्मै पहुँच हुने गर्दछ।'
पाण्डेमाथि उनले नेपालको स्वतन्त्रतामाथि घात गरेको आरोप पनि लगाएका छन्।
पाण्डे र बजगाईँको विवाद भने केहीअघिदेखि नै सतहमा आइसकेको छ। यसपटक पनि बजगाईंले पहिलेको कुरा उल्लेख गर्दै पार्टीभित्रै पहिले कुरा राख्न आग्रह गरेपछि पार्टी अनुशासन स्वीकारेर बाँकी कुरा सार्वजनिक नगरेको भनेका छन्।
Shares

प्रतिक्रिया