सहकारीको बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने उच्च अदालतको आदेश सदर गरेकामा सर्वोच्च अदालतलाई धन्यवाद दिएका छन्।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा छाडेका लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले गत चैत २२ गते पुनः थुनामै पठाएपछि दायर गरिएको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चले शुक्रबार राति उच्च अदालतकै आदेश सदर गरेको हो।
यसप्रति सामाजिक सञ्जालमा खुसी प्रकट गर्दै थापाले सर्वोच्चले आदेशमा आफू नेतृत्वको संसदीय छानबिन विशेष समितिले उजागर गरेका तथ्य र प्रमाण नै सन्दर्भका रूपमा स्वीकार गरेको उल्लेख गरेका हुन्।
एमाले सांसद थापाले आफूले बितेका एक वर्ष सहकारी ठगी प्रकरण छानबिनको नेतृत्व गरेर सर्वसम्मत प्रतिवेदन प्रस्तुत गर्दा लामिछाने पक्षधरबाट गालीगलोज र अपमान खेप्नुपरेको स्मरण पनि गरेका छन्।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तिनले मलाई श्रद्धाञ्जलि (रिप) लेखेनन् कि, के बाँकी राखे? उच्च अदालत तुलसीपुरको बुटवल इजलासका माननीय न्यायाधीशहरूलाई पनि त्यही जत्थाले केके लेख्यो र त्यसयता कसरी अपमानित गरिरह्यो? ...सर्वोच्च अदालतको संयुक्त इजलासले रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालतको आदेशलाई नै सदर गरेको छ र आदेशमा संसदीय छानबिन विशेष समितिले उजागर गरेका अकाट्य तथ्य र प्रमाणहरूलाई नै सन्दर्भका रूपमा स्वीकार गरिएको छ।’
उनले लेखेका छन्, ‘परिचालित जत्थालाई सर्वोच्चले नोटिसमा लिएकोमा धन्यवाद। ...आदेशको बुँदा नं १९ मा एउटा महत्त्वपूर्ण विषयलाई नोटिसमा लिएको छ। यो स्वागतयोग्य नोटिस हो।’

Shares

प्रतिक्रिया