सरकारले पछिल्लो समयमा कोरोना (कोभिड-१९) का संक्रमित देखिएका तीन जिल्लामा व्यापकरुपमा कोरोनाको तीव्र परीक्षण (र्यापिड टेस्ट) गर्ने भएको छ।
शनिबारको मन्त्रिपरिषद् बैठकले बागलुङ, कैलाली र कञ्चनपुरमा पहिले र्यापिड टेस्ट किटबाट ठूलो संख्याका मानिसलाई परीक्षण गर्ने र त्यसबाट प्राप्त परिक्षणले देखाएका शंकास्पद् व्यक्तिहरुको पीसीआर बिधिबाट थप विस्तृत परीक्षण गर्ने निर्णय गरेको हो।
नेपालमा देखिएका ९ जनामध्ये २ जना बागलुङ र ४ जना कैलाली–कञ्चनपुरमा संक्रमित देखिएका छन्।
एक जिल्लाबाट अर्को जिल्लामा जान रोक
त्यसैगरी मन्त्रीपरिषद्को सो बैठकले लकडाउनको निर्णय अनुसार नै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानिय तहबाट अर्को स्थानिय तहमा जान रोक लगाउने निर्णय समेत गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए।
उनले लकडाउनको समयबधी भने बढाउने वा नबढाउने निर्णय अहिले नभइसकेको बताए।
दोस्रो चरणको लकडाउन चैत २५ गतेसम्म जारी छ।

प्रतिक्रिया