राजनीति


यी पाँच महिला सांसद, जसले सचेत गराउँछन् आफ्नो दलका माननीय

यी पाँच महिला सांसद, जसले सचेत गराउँछन् आफ्नो दलका माननीय

बायाँबाट क्रमश: सुशीला थिङ, सुनिता बराल, रूपा सोःशी चौधरी, निशा डाँगी र विना लामा।


सागर न्यौपाने
जेठ ६, २०८२ मंगलबार ९:४८, काठमाडौँ

प्रतिनिधि सभाका २७५ जना माननीयलाई सभामुखले हाँक्छन्। त्यसैगरी दलैपिच्छेका माननीय हाँक्ने, निगरानी गर्ने, सचेत गराउने र निर्देशन दिने जिम्मेवारी सचेतकको हुन्छ। 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २ (त) का अनुसार ‘सचेतक’ भन्नाले सम्बन्धित संसदीय दलले सचेतकको काम गर्न तोकेको सदस्य सम्झनु पर्छ र सो शब्दले मुख्य सचेतक वा प्रमुख सचेतकलाई समेत जनाउँछ। 

यस्तै सोही ऐनको परिच्छेद ५ को दफा २८ मा सचेतकको जिम्मेवारीबारे उल्लेख गरिएको छ। जसअनुसार संसदीय दलका नेताको निर्देशन बमोजिम त्यस्तो दलको सचेतकले खासखास विषयमा सांसदहरूलाई ह्विप लगाउन सक्छन्।

निर्देशन पालना नगर्ने सदस्यको विवरण सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई दिनुपर्ने व्यवस्था पनि छ। 

यतिबेला प्रतिनिधि सभामा यस्तो महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गर्ने पाँच जना सचेतक महिला छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सचेतकको जिम्मेवारी महिला माननीयलाई सुम्पेका छन्।

उनीहरू हुन् : कांग्रेसकी सुशीला थिङ, एमालेकी सुनिता बराल, माओवादी केन्द्रकी रूपा सोःशी चौधरी, रास्वपाकी निशा डाँगी र राप्रपाकी विना लामा। उनीहरू सबै युवा हुन्। त्यसमध्येमा संसदकै सबैभन्दा कान्छी माननीय डाँगी हुन्।

यद्यपि, उनीहरू पाँचैजना समानुपातिक सांसद हुन्। 

संसदीय दलका नेतालाई आफ्ना सांसदबारेको रिपोर्टिङ गर्ने जिम्मेवारीदेखि कुन सांसदलाई बोल्न दिने, के विषय संसदमा उठाउने? सचेतककै जिम्मामा हुन्छ। संसदीय दलको नेताले सचेतकसँग समन्वय गर्छन्, बाँकी काम सचेतकले सांसदसँग गर्छन्।

सांसदहरूले बोल्नको लागि सचेतकमार्फत नै जानुपर्छ। कतिपय अवस्थामा संसदमा कुन लाइनबाट बोल्ने भन्ने ‘क्लु’ सचेतकले दिन्छन्। कुनै पनि विषय कसले उठाउँदा ठीक हुन्छ भन्ने कुराको मूल्यांकन गरेर सांसद छनोट गर्ने काम पनि सचेतकले नै गर्छन्। 

संसद् सचिवालयले प्रमुख सचेतकका लागि सवारीसाधन र एकजना शाखा अधिकृत वा कम्प्युटर अधिकृतको व्यवस्था गरिदिन्छ। 

त्यसो त राजनीतिक दलको आफ्नै विधान अनुसार सचेतकको व्यवस्था गरिएको हुन्छ। हामीले पाँचै वटा दलमा रहेका पाँच महिला सचेतकबारे यहाँ चर्चा गरेका छौँ। 

सुशीला थिङ 
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी सुशीला थिङ दुई वर्षदेखि सचेतक छिन्। कमलामाई नगरपालिका २, सिन्धुलीकी थिङ समानुपातिक सांसद हुन्।

२०८० जेठ २५ गते उनलाइ संसदीय दलका नेता शेरबहादुर देउवाले सचेतकमा नियुक्त गरेका हुन्। उनी ५० वर्षकी भइन्। 

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीको संसदीय दलको विधानमा रहेको व्यवस्था अनुसार प्रमुख सचेतक र सचेतक दुईजना राखिएको बताए। त्यसमध्ये एकजना महिला अनिवार्य गरेको बताए।

‘उहाँलाई निश्चित काम छुट्याइएको छ, प्रमुख सचेतकको अनुपस्थितिमा त सबै गर्नैपर्‍यो,’ घिमिरेले भने, ‘जिम्मेवारी बाँडफाँट गरेका छौँ।’

‍सुनिता बराल 
नेकपा एमालेको सचेतक सुनिता बराल छिन्। अनेरास्ववियुको अध्यक्ष भइसकेकी उनी एमालेको केन्द्रीय सदस्य छिन्। 

उनी २०८० फागुन २२ बाट सचेतक नियुक्त भएकी हुन्। झापा गौरादहकी उनले स्नातकोत्तरसम्मको अध्ययन गरेकी छन्। उनी ३८ वर्षकी भइन्। 

२०७९ फागुन २५ गते एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका थिए।

तर, गिरी मन्त्री बनेपछि एमालेले बर्तौलालाई प्रमुख सचेतक बनाउँदै बराललाई सचेतक बनाएको हो। 

रूपा सोःशी चौधरी
नेकपा माओवादी केन्द्रकी सचेतक रूपा सोःशी चौधरी छिन्। २०७९ चैत २८ गते बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गरेको हो।

उनी टीकापुर नगरपालिका २ कैलालीकी हुन् र ४७ वर्षकी भइन्।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले दलको विधानभन्दा पनि विचारका आधामा महिला सांसदलाई सचेतक बनाएको बताए।

‘जहाँ पनि पुरुषै पुरुष छन्। महिलालाई दिनुपर्छ, ३३ प्रतिशतले पनि पुग्दैन र ५० प्रतिशत बनाउनुपर्छ भन्ने विचारले रूपाजीलाई सचेतक बनाएका हौँ,’ पाण्डेले भने।  

निशा डाँगी 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचेतकमा सांसद निशा डाँगी छन्।

उनी २०८० वैशाख १८ गते उनी सचेतक नियुक्त भएकी हुन्।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर १ की हुन् उनी। स्नातकोत्तर अध्ययन गरेकी उनी २८ वर्षकी भइन्। 

विना लामा 
संसदको पाँचौँ ठूलो दल राप्रपाले २०८० वैशाख ६ गतेदेखि विना लामालाई सचेतकमा मनोनीत गरेको छ। 

राप्रपा विधानबमोजिम संसदीय दलका नेता राजेन्द्र लिङ्देनले उनलाई सचेतकमा मनोनीत गरेका हुन्। 

धादिङबाट समानुपातिक प्रतिनिधित्व गर्ने उनी २०७४ माघदेखि राजनीति सुरु गरेको उनी चार महिनामै रुवी भ्याली गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी थिइन्। 

पाँच वर्ष पालिका चलाएपछि उनी समानुपातिक सांसद भएकी हुन्। रुवी भ्याली २ धादिङकी उनी ३७ वर्षकी भइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad