प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बलेको बत्तीमुनि बसेर बिजुली गयो भन्ने कथन बन्न लागेको टिप्पणी गरेका छन्।
हालै नियुक्ति भएका नेपाल विद्युत प्राधीकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यलाई केही सुझाव दिँदै उनले यस्तो उल्लेख गरेका हुन्। ‘तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ, आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ,’ रिमालले लेखेका छन्, ‘प्राधिकरणलाई कसरी प्रगतिमा पुर्याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ।’
उनले थपेका छन्, ‘तर सजग रहनुहोला, बलेको बत्तीमुनी बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने न्यारेटिभ बनाइँदै छ। बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो। देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन्। समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँमुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ।’
रिमालले सहग भएर काम गर्न सुझाव दिँदै लेखेका छन्, ‘त्यसैले, सजग रहनुस्-काम गर्नुस्, तर ध्यान दिनुस्-कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्।’
Shares

प्रतिक्रिया