नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले दुई पार्टी मिलेर बनेको सरकार सरकारजसरी चल्न नसकेको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद गौतमले सांसदको हैसियतले त्यस्तो अनुभूति गरेको बताए।
'अहिले जुन सरकारमा छौँ। कांग्रेस र एमाले मिलेर सरकार बनाइएको छ। सरकार सरकारजसरी चलेको अनुभूति गर्न सकेको छैन,' उनले भने।
उनले संसद्मा जुन किसिमको भाइब्रेसन हुनुपर्ने हो त्यो हुन नसकेको पनि बताए। 'संसद् जसरी चल्नुपर्ने हो, जसरी जनताका समस्या रिफ्लेक्ट भएर भाइब्रेसन हुनुपर्ने हो, त्यो हुन सकेको छैन,' उनले भने।
उनले न्यायपालिकमा पनि जनताको भरोसा नभएको जस्तो देखिएको बताए। 'जनता निराश छन्। जनतामा आशा र भरोसा पैदा गर्न सकेका छैनौँ। एक किसिमको सोच र सम्भावाना क्रियट गर्न सकेका छैनौँ,'गौतमले भने।
उनले शीर्ष नेताहरूले राष्ट्रिय सहमति गर्ने बेला आइसकेको समेत बताए। 'अब बेर भइसक्यो, एकपटक शीर्षस्थ नेताले टाउको जोड्नुस्। अब मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न सक्यौँ, संविधान संशोधन गर्न सक्यौँ,' उनी भन्छन्, 'जनतामा आशा र भरोसा पैदा गर्न सक्यौंँ र मुलुकलाई निश्चित दुरीसँग हिँड्न सके मुलुकलाई एक ठाउँमा पुर्याउला।'
Shares

प्रतिक्रिया