नेपाली कांग्रेसको राजनीति सुरू गरेदेखि नै मोहनबहादुर बस्नेतको निकटता प्रभावशाली नेता खुमबहादुर खड्कासँग भयो। पार्टीका सबै तह र तप्कामा बलियो पकड जमाएका खड्काकै आडमा बस्नेत पार्टीभित्र बलियो बन्दै गए।
तर, खड्कामाथि २०५९ मा भ्रष्टाचार मुद्दा लाग्यो। ०६३ मा विशेष अदालतबाट सफाइ पाए।
विशेषको फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वाेच्च अदालतमा मुद्दा पर्यो। सर्वाेच्चले २०६९ साउन ३० गते खड्कालाई भष्टाचारी ठहर गर्दै डेढ वर्ष सजाय सुनायो। त्यही फैसलाले खड्काको राजनीति सिध्यायो। उनको २०७४ मा निधन भइसकेको छ।
खड्का दोषी ठहर भएको १२ वर्षपछि सांसद बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा परेको छ।
कांग्रेसमा पटकपटक महत्वपूर्ण जिम्मेवारी पाएका खड्कासँगको सामीप्यकै कारण बस्नेत एकपटक राज्यमन्त्री र अर्काेपटक मन्त्री बन्न सफल भएको निकटस्थहरू बताउँछन्।
त्यही शक्तिले सिन्धुपाल्चोकमा २० वर्ष सभापति भई एकछत्र राज गर्न बस्नेतलाई सहयोग पुग्यो।
नेपाल दुरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्यारिफ मनिटरिङ फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद कार्यमा परामर्शदाता छनौट गर्दा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ १ गते मुद्दा दायर गरेसँगै उनी सांसदबाट निलम्बित भएका छन्।
यससँगै सधैँ विवाद, आलोचना, सनसनीपूर्ण अभिव्यक्तिका कारण चर्चामा आउने गरेका बस्नेतलाई ६७ वर्षको उमेरमा ठूलो झट्का त लागेको छ नै, उनको राजनीतिक करिअर पनि अन्धकार सुरुङमा प्रवेश गरेको छ।
दोषी ठहर भए भने खुमबहादुरको जस्तै बस्नेतको पनि सक्रिय राजनीति समाप्त हुनेछ। दोषी ठहर नै नभए पनि मुद्दाको टुंगो लाग्न लामो समय लाग्नेछ। त्यतिञ्जेल उनी अभियुक्त रहने छन्।
अर्को कुरा, भ्रष्टाचार आरोप मात्र लागेका नेताहरूलाई पनि राजनीतिमा टिक्न मुस्किल हुने गर्छ। तर बस्नेतविरुद्ध त मन्त्री छँदै गरेको निर्णयका कारण संवैधानिक आयोगले मुद्दा दायर गरेको हो। जसका कारण सिन्धुपाल्चोकको दलीय र संसदीय राजनीतिमा लामो समयदेखि कायम उनको पकड फुस्किन सक्छ।
सधैँ विवादमा बस्नेत
जिद्दी स्वभावका कारण बस्नेत बेला–बेला विवादमा आइरहने गरेको उनलाई चिन्नेहरू बताउँछन्। विधि मिच्न पछि नपर्ने बस्नेत विरोधीप्रति साह्रै असहिष्णु थिए।
गत मंसिर ९ गते बस्नेतले निकै विवादास्पद अभिव्यक्ति दिए। सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थित दाबी खोलामा बनेको पुल उद्घाटनमा पुगेका उनले केन्द्रीय सरकार जोसुकैको भए पनि सिन्धुपाल्चोकको सरकार प्रमुख आफू रहेको दाबी गरे। माओवादी नेताहरूलाई चुनौती दिनै उनले यस्तो बताएका थिए।
‘चाहे सुबोध होस् वा अग्नि, पञ्चायतकालमा भिडेर आएको मान्छे हुँ। यो देशमा सरकार जसको होस्, सिन्धुपाल्चोकको सरकार म हुँ,’ बस्नेतले घोषणा गरेका थिए।
पार्टीभित्रै पनि बस्नेतको अभिव्यक्ति निकै उग्र थियो। केही महिनाअघि महामन्त्री गगन थापालाई उनले फेरि काठमाडौँ ४ बाट चुनाव जितेर देखाउन चुनौती दिएका थिए। अघिल्लो वर्ष केन्द्रीय समिति बैठकमै उनले थापातिर संकेत गर्दै गुटले नपत्याएपछि गुट चाहिँदैन भन्दै हिँडेको भनेर आलोचना गरेका थिए।
जिल्लामा पनि आफूसँग असहमत हुनेलाई उनले थर्काउने गरेको भुक्तभोगीहरू बताउँछन्। त्यही भएर पनि उनको विरुद्ध कसैले बोल्ने आँट नगरेको सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ता बताउँछन्।
‘उहाँ सधैँभरि विवादमा आइरहनुभयो। उहाँले बोल्दा पनि विवाद आउँछ, व्यवहारले पनि विवाद आउँछ,’ एक जिल्ला नेताले भने, ‘तर, उहाँलाई त्यसमै गर्व छ। विवादमा आओस् कि आलोचना होस् कि जे सुकै होस्, उहाँ आफ्नो काम गर्व गरेर गरिरहनुहुन्छ।’
गुण्डागर्दीमा जोडिएको नाम
कुनै समय गुण्डागर्दी र तस्करीमा बस्नेतको नाम जोडिन्थ्यो। उनी आफैँ पनि राप्रपा लगायतका नेतालाई मारपिट गरेको बताउने गर्थे। अहिले पनि माओवादीका नेताहरूलाई उनले धम्की दिने गरेका छन्।
सार्वजनिक मञ्चमा कम्युनिस्टप्रति निकै आक्रामक बनेर प्रस्तुत हुने र अभिव्यक्ति दिने गरेका छन्। यद्यपि, उनले कसैलाई नकुटेको कांग्रेस बागमती प्रदेश समितिका सहमहामन्त्री हरिशरण श्रेष्ठ बताउँछन्।
‘मान्छे कुटेको छैन। यसो गरेको भनेर भन्ने मात्र हो, त्यही भनेर उहाँले सिन्धुपाल्चोक हल्लाएको मात्र हो। म कुट्छु, पिट्छु भनेरै उहाँले चलाउनुभयो,’ उनीसँग लामो समय सँगै काम गरेका श्रेष्ठले सुनाए, ‘खासा व्यापार गर्ने अधिकांश कांग्रेसी थिए त्यही भएर उहाँ पदमा भएपछि उहाँको नाम जोडिएको मात्र हो। धेरैवर्ष पदमा रहँदा व्यापारीहरूले राम्रा, नराम्रा, भन्सार तिरेको नतिरेको काम गरेका भए पनि उहाँको नाम जोडिएर आएको हुन्छ। उहाँ आफैँ व्यापारी होइन।’
सिन्धुपाल्चोको बाह्रबिसेमा २०१५ सालमा जन्मिएका बस्नेत उच्च शिक्षा अध्ययन गर्न पाटन संयुक्त क्याम्पस आएका थिए। कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध भएर ०३४ सालदेखि राजनीति थाले।
पञ्च परिवारमा हुर्किएका बस्नेत बीपी कोइरालाबाट प्रभावित भएको उनको भनाइ छ। २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव लड्न आएको प्रस्ताव अस्वीकार गरेको उनी बताउँछन्।
‘म कांग्रेस हुँ, पञ्चेहरूसँग चुनाव लड्दिनँ, बहुदल आएपछि मात्र चुनाव लड्छु भनेर छोडिदिएँ,’ उनी भन्छन्।
बहुदलीय व्यवस्था स्थापना भएपछि उनको राजनीतिक उचाइ बढ्न थाल्यो।
कांग्रेस बागमती प्रदेश समितिको सहमहामन्त्री हरिशरण श्रेष्ठ बस्नेतले नै सिन्धुपाल्चोकमा पार्टी बनाएको बताउँछन्।
२०५६ मा राणा परिवारमा बिहे गरेपछि बस्नेतको शेरबहादुर देउवासँग निकटता बढ्न थाल्यो। देउवाको श्रीमती डा. आरजु राणा र मोहनबहादुर बस्नेतको श्रीमती पनि राणा परेपछि पारिवारिक नाता जोडियो।
खुमबहादुर खड्का र देउवाको कांग्रेसभित्र सम्बन्ध सुमधुर थियो। पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग विवाद बढेपछि शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा कांग्रेस प्रजातान्त्रिक गठन गरे। त्यसबेला देउवालाई साथ दिनेमध्ये खड्का पनि एक थिए।
२०५२ देखि २०७२ सम्म उनी सिन्धुपाल्चोकको सभापति रहे। २०७४ को तेह्रौँ र २०७८ को चौधौँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भए।
बस्नेतले सिन्धुपाल्चोकबाट ३ पटक संसदीय चुनाव जिते। तीनैपटक उनी मन्त्री बन्न सफल भए।
२०५८ मा स्वास्थ्य राज्यमन्त्री बनेका उनी २०७४ मा सञ्चारमन्त्री बने। त्यसबेला टेरामक्स उपकरण खरिदको विषयमा क्षेत्राधिकार नाघेर एकल रूपमा निर्णय गराई कार्यान्वयनका लागि निर्देशन दिएको भन्दै अख्तियारले छानबिन थाल्यो। यद्यपि, अख्तियारले सो छानबिन सकेको थिएन। ०७९ मा फेरि सांसद बनेका उनी २०८० वैशाख २० गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्री बने।
माओवादीप्रति निकै आक्रामक अभिव्यक्ति दिने गरेका बस्नेत उनै माओवादीको सहयोगमा २०७९ मंसिरमा भएको संघीय चुनावमा एमालेका शेरबहादुर तामाङलाई पराजित गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्बत्रर २ बाट निर्वाचित भएका थिए।
सधैँ टिकट
उनी पार्टीमा कति शक्तिशाली छन् भने ३१ वर्षको संसदीय राजनीतिक इतिहासमा बस्नेतले २०५१ को मध्यावधि निर्वाचनबाहेक सधैँ टिकट पाइरहेका छन्।
२०४८ सालमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका उनी एमालेका अमृत बोहोरासँग पराजित भए। २०५६ सालमा उनै बोहोरालाई हराएर पहिलोपटक संसदमा पुगे।
देउवा २०५८ मा प्रधानमन्त्री भएका बेला उनी स्वास्थ्य राज्यमन्त्री बने। २०६४ को पहिलो संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर १ मा पराजित भए।
तर, २०७० को दोस्रो संविधान सभा निर्वाचनमा एमालेका अरुण नेपाललाई हराउँदै दोस्रोपटक संसद् प्रवेश गरे। त्यसको चार वर्षपछि सूचना तथा सञ्चारमन्त्री बने।
तर, ०७४ को निर्वाचनमा माओवादी केन्द्रका नेता अग्नि सापकोटासँग पराजित भएका थिए।
‘जिल्लामा राम्रै पकड, नेतृत्व रिझाएर उहाँले टिकट पाइरहनुभएको छ,’ बागमती प्रदेश समितिका सहमहामन्त्री श्रेष्ठले भने, ‘उहाँले आफ्नो नेतृत्वमा कांग्रेस अगाडि बढाएकै हो।’
अहिलेसम्म पनि उनको जिल्लामा पकड निकै राम्रो रहेको उनी बताउँछन्।
‘उहाँका कतिपय कार्यशैली सहमत हुन नसकिने खालका छन्, पार्टीमा थिचोमिचो गर्ने, दुःख गरेका साथी हेप्ने गर्नुहुन्छ। तर, सिन्धुपाल्चोक कांग्रेस राम्रो हुनुमा उहाँको योगदान छ,’ श्रेष्ठले थपे।
Shares

प्रतिक्रिया