राजनीति


जनमतको घर विवाद पुग्यो अदालत, पूर्वकोषाध्यक्ष यादवविरुद्ध ठगी मुद्दा

जनमतको घर विवाद पुग्यो अदालत, पूर्वकोषाध्यक्ष यादवविरुद्ध ठगी मुद्दा

उजिर कार्की
जेठ २, २०८२ शुक्रबार २०:३०, काठमाडौँ

जनमत पार्टीको घरको विवाद अदालत पुगेको छ। पार्टीकै पूर्वकोषाध्यक्ष सुरेन्द्रनारायण यादवले ललितपुरको महालक्ष्मी नगरपालिका ४ को कित्ता नम्बर ९४३ मा खरिद गरेको घर पार्टीलाई फिर्ता नदिई आफ्नै नाममा राखेको विषयमा शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर भएको हो। 

जनमतका प्रवक्ता डा. शरदसिंह यादवले पूर्वकोषाध्यक्ष सुरेन्द्रका दम्पतीविरुद्ध उजुरी दिएका थिए। प्रहरीले सुरेन्द्रलाई पक्राउ गरेर अनुसन्धान गरेपछि मुद्दा अदालत पुगेको हो। उनकी पत्नी ललिताकुमारी यादवलाई भने प्रतिवादी नबनाउने सरकारी वकिल कार्यालयले निर्णय गरेको छ। तर उनको नाममा रहेको घर पार्टीको नाममा नामसारी गरिदिन अदालत समक्ष माग गरिएको छ। पार्टीका लागि किनिएको भनिएको घर हाल ललिताको नाममा छ। 

सुरेन्द्रनारायण यादव जनमत पार्टीको कोषाध्यक्ष पदमा रहँदा अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) का लागि पार्टीले काठमाडौँमा घर खरिद गर्ने निर्णय गरेर यसको जिम्मा कोषाध्यक्षलाई दिएको जनमतको दाबी छ। 

जाहेरी अनुसार घर खरिदका लागि केही रकम सहयोग लिएको र बाँकी गरिमा विकास बैंकबाट ऋण लिएको थियो। सुरेन्द्रनारायण यादवले २०८० जेठमा श्रीमती ललिताकुमारी यादवको नाममा ललितपुरको इमाडोलमा १४३.१२ वर्ग मिटर जग्गामा रहेको घर खरिद गरेका थिए। 

पार्टीको लागि भनी खरिद गरेको घरको ऋणको किस्ता पनि २२ महिनादेखि पार्टीले नै तिर्दै आएको दाबी प्रवक्ता यादवले गरेका छन्। उनले जाहेरीसाथ बैंकको किस्ता तिरेको रसिद समेत पेस गरेका छन्। 

पार्टीको प्रयोजनका लागि खरिद गरेको घरजग्गा नामसरी गर्न सुरुमा ४० लाख रूपैयाँ माग गरेको र पार्टीले त्यो रकम भुक्तानी गर्दा पनि यादवले नदिएको आरोप छ। 

तर सुरेन्द्र यादवले भने आफूमाथि लगाएको आरोप झुटो भएको दाबी गरेका छन्। उनले जनमतका अध्यक्ष राउतले बस्ने ठाउँ नभएको भन्दै काठमाडौँ बस्नका लागि आफूलाई घर खरिद गर्न भनेको र त्यो घरमा बस्न दिन भनेको प्रहरीलाई बयान दिएका छन्। 

अनि शिवा आलेसँग साढे तीन तले, ८ कोठा भएको पक्की घर एक करोड ५० लाखमा खरिद गरेका थिए। 

सोही घरजग्गा बैंकमा धितो राखी ऋण लिएको र महिलाको नाममा पास गर्दा कर कम लाग्ने भएकाले श्रीमती ललिताको नाममा २०८० जेठ २५ गते पास गरेको उनले बताएका छन्। 

आफूले वैदेशिक रोजगारमा कतारमा काम गर्दा आएको तलबीमान, भिसा, श्रम, कतार देशको बैंक स्टेटमेन्ट, रेमिटेन्स गरेको कागज लगायत पेस गरी आयस्रोत देखाई बैंकबाट एक करोड ४९ लाख रूपैयाँ ऋण लिएर किनेको यादवले भनेका छन्। 

आफूले उक्त घरमा सीके राउतलाई भाडामा बस्न दिएको र करिब ६ महिना बसेपछि उक्त घरभाडा ५ वर्षसम्म मासिक २५ हजारका दरले दिने सहमति भएको बताएका छन्। आफू वैदेशिक रोजगारीमै भएकाले सीके र ललिताबीच वडा कार्यालयमै सम्झौता भएको बयान यादवको छ। 

राउत अहिले पनि सोही घरमा बस्दै आएका छन्। घरको नामसारी गर्ने बारेमा पहिले पार्टीमा कुनै कुरा नभएको र सीके राउतको श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा अगाडि बढेपछि श्रीमतीले सम्बन्ध विच्छेद गर्न यही घर मागेकाले सीकेले घर मागेको यादवको बयान छ। 

‘राउतले यो घर मलाई चाहियो भनी मलाई भन्न थालेपश्चात् मैले खरिद गरेको घर तपाईंलाई किन दिने? म यो घर दिन्नँ, तपाईंलाई भाडामा बस्न दिएको हो बस्नुस्, भन्दा उहाँसँगको सम्बन्ध बिग्रियो। विमति भयो र यी सबै बनावटी कुराहरू गरी मलाई पार्टीको विधान विपरीत कार्य गरेको भनी विभिन्न आरोप लगाई कोषाध्यक्षबाट निलम्बन गरी मेरो र मेरो श्रीमतीको विरुद्धमा ठगी तथा आपराधिक विश्वासघात मुद्दा दायर गरेको रहेछ,’ यादवले बयानमा भनेका छन्। 

जाहेरीमा भनेजस्तो उनीहरूले घर खरिद गर्न कुनै पनि रकम नदिएको, पछि ४० लाख मागेको पनि झुटा भएको र २०७९ सालको निर्वाचनमा आफूले खर्च गरेको रकम माग गरेकाले उनीहरूले त्यही रकम जम्मा गरिदिएको दाबी यादवको छ। 

प्रहरीले यादवलाई सीके राउतसँग भएका म्यासेज देखाएर थप बयान लिएको थियो। 

ती म्यासेज स्वीकार गरेका यादवले २०७९ को निर्वाचनमै खर्च भएको ४० लाख रूपैयाँ माग गरेको जिकिर गरेका छन्। त्यही रकम माग्दा सीकेले उक्त घरसँग जोडेको पनि यादवले बताएका छन्। 

यादवको खातामा ३७ लाख ९९ हजार रूपैयाँ जम्मा भएको देखिएको छ। जुन कुरा उनले पनि स्वीकार गरेका छन्। 

यादवको खातामा जनमतका चारजना सांसदहरूले १० लाख रूपैयाँसम्म गरी उक्त रकम जम्मा गरिदिएको स्वीकार गरेका छन्। उनको खातामा ६८ लाख रूपैयाँ जम्मा भएको देखिएको छ। तर त्यसमध्ये केही रकम भने आफ्नो व्यक्तिगत लेनदेनको भएको उनको दाबी छ।

प्रहरीले यो मुद्दाको अनुसन्धानमा सीके राउतसँग पनि कागज गराएको छ। राउतले पनि जाहेरीमा भएजस्तै आफूलाई काठमाडौँमा बस्नका लागि पार्टीले घर खरिद गरेको दाबी गरेका छन्। घरको केही निर्माण कार्य समेत आफूले बसेर सम्पन्न गरेको बताएका छन्। 

घर किन्दा बैंकबाट लिएको ऋणको मासिक किस्ता २ लाख ५० हजार रूपैयाँ पनि पार्टीको आधिकारिक बैंकखाताबाटै भुक्तानी गरेको राउतले बताएका छन्। अहिलेसम्म ५५ लाख रूपैयाँजति बैंकको किस्ता पार्टीले भुक्तानी गरिसकेको राउतले कागज गरेका छन्। 

यादवले उक्त घर किन्दा आफ्नो २४ लाख रूपैयाँ परेको र त्यसको ब्याजसमेत गरी ४० लाख दिनु पर्ने बताएकाले पार्टीले ३७ लाख ९९ हजार तिरिसकेको बयान सीकेले दिएका छन्। 

यी सबै प्रमाणबाट पूर्वकोषाध्यक्ष यादवले पार्टीको घर कब्जा गरेको अनुसन्धानको निष्कर्ष छ। उनले एक करोड ८५ लाख रूपैयाँ बराबरको घर पार्टीको नाममा नामसारी गर्न नमानेकाले घर नामसारी गरिदिन आदेश माग गरिएको छ। 

यस्तै यादवलाई पीडित राहत कोषमा क्षतिपूर्ति भराउन समेत सरकारी वकिल कार्यालयले माग गरेको छ। तर उनकी पत्नीको भने यी गतिविधिमा संलग्नता नदेखिएकाले उनलाई प्रतिवादी नबनाउने निर्णय पनि सरकारी वकिलले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad