राजनीति


रोशीको बाढीबारे संसद्‍मा उठ्यो कुरा, सरकारको भूमिकाको आलोचना

रोशीको बाढीबारे  संसद्‍मा उठ्यो कुरा, सरकारको भूमिकाको आलोचना

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार ११:३६, काठमाडौँ

काभ्रेको बनेपा र पनौती क्षेत्रमा परेको भारी वर्षापछि त्यहाँको रोशी खोलामा आएको बाढीका कारण पुगेको क्षतिबारे संसद्‍मा सांसदहरुले कुरा उठाएका छन्। मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काभ्रे र सिन्धुलीबाट प्रतिधिनित्व गर्ने सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन्।

काभ्रेका सांसद सूर्यमान दोङले बाढीका कारण वीपी राजमार्गपूर्णरुपमा अवरुद्ध भएको र सीमानामा धेरै विरामी अलपत्र परेको जानकारी गराए। ‘काभ्रेमा एकजना महिला फेरि बेपत्ता भएको छ, पनौतीदेखि पूर्वी क्षेत्रको यातायात फेरि ठप्प भएको छ,’ उनले भने, ‘यतिबेला सिन्धुली र काभ्रेको सीमानामा ५० औं बिरामी अलपत्र परेका छन्। एम्बुलेन्स लगायतका सवारी साधन ठप्प छन्।’

यसअघि आएको बाढीका कारण वीपी राजमार्ग क्षतिग्रस्त भएकाले आफूले वैकल्पिक राजमार्गका रुपमा तिमाललाई बनाउन आग्रह गरेको भए पनि सरकारले नसुनेको आरोप लगाए। ‘यो सरकारलाई बाढी पहिरो गएको थाहा छैन?,’ सांसद दोङले भने, ‘सरकारलाई यहाँको समस्या थाहा नभएको हो र? मैले त्यतिबेलै भनेको थिएँ रोशीको सडक बनाउन ढिला हुन्छ त्यसैले तिमाललाई वैकल्पिक राजमार्ग व्यवस्थापन गरेर छिटो निर्माण गर्नुपर्छ।’

त्यस्तै बाढीले क्षति गरेको अर्को जिल्ला सिन्धुलीका सांसद लेखनाथ दाहालले सोमबार साँझ रोशी खोलामा आएको बाढीमा एक जना बेपत्ता भएको र हजारौँ यात्रु अलपत्र रहेको जानकारी दिए। ‘पनौती-५ की ३३ वर्षीया रेनुका गिरी बेपत्ता हुनुभएको छ,’ उनले भने, ‘ रोशी खोलामा आएको बाढीले वीपी राजमार्ग अवरुद्ध भएको छ। हजारौँ यात्रु अलपत्र छन्।’

अघिल्लो पटक बाढी आउँदा पनि सरकारले प्रभावकारी उद्धार र राहत वितरणको काम नगरेको भन्दै दाहालले भने, ‘त्यतिबेला पनि सरकारबाट राहत र उद्धाकार लागि प्रभावकारी पहल भएन। पुर्नस्थापना र पुनर्निर्माणमा संघीय सरकारको ध्यान गएको छैन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad