राजनीति


जब ओलीले वैद्य विमानस्थलमै रहेको थाहा पाए...

जब ओलीले वैद्य विमानस्थलमै रहेको थाहा पाए...

भैरहवा विमानस्थलमा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यसँग प्रधानमन्त्री केपी शर्मा ओली


नेपालखबर
बैशाख २९, २०८२ सोमबार १८:१२, काठमाडौँ

मातृ शोकमा रहेका नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ सोमबार गृहजिल्ला दाङबाट काठमाडौँ फर्किँदै थिए। 

दम रोगले ग्रसित उनी भैरहवाबाट विमानमार्फत काठमाडौँ आउन विमानस्थलको भीआईपी कक्षमा  विमानको प्रतिक्षा गरिरहेका थिए। दम रोगले सताइरहेकाले वैद्य भीआईपी कक्षकै अलि शान्त कोठा रोजेर आराम गरिहेका थिए। 

यता काठमाडौँबाट प्रधानमन्त्री केपी शर्मा ओली पनि भैरहवा विमानस्थलमा अवतरण गरेका थिए। बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजना गरिएको कार्यक्रममा लागि उनी त्यता लागेका थिए। 

विमानस्थलको भीआईपी कक्षमा पुग्ने बित्तिकै  ओलीले  थाहा पाए– मोहन वैद्य पनि यतै हुनुहुन्छ। त्यो थाहा पाउने बित्तिकै ओली वैद्यलाई खोज्दै उनी आराम गरिरहेको कक्षमा पुगे।

भेट्ने बित्तिकै ओलीले वैद्यसँग हात मिलाए।भेटमा सँगै रहेका वैद्यका भान्जा एवं पत्रकार प्रशान्त वलीका अनुसार आमा गुमाएका वैद्यलाई उनले समवेदना प्रकट गरेका थिए। 

वैद्यकी आमा जानकीदेवी उपाध्यायको एक सय वर्षको उमेरमा वैशाख २४ गते निधन भएको थियो। त्यसप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले वैद्य स्वयंको पनि स्वास्थ्य अवस्थाबारे सोधीखोजी गरे।

‘तपाईंलाई कस्तो छ?,’ ओलीको प्रश्न थियो, ‘दमले सताएकै होला?’ अनि ओलीले सुझाव पनि दिए– अलि ख्याल गर्नुहोला।

दमका कारण वैद्य पनि लामै समय अस्पताल बसेर स्वास्थ्य उपचार गरेका थिए।

आफ्नो स्वास्थ्य अवस्थाबारे सोधखोज गरेका ओलीलाई पनि वैद्यले सोधे– तपाईंलाई कस्तो छ नि?

उनले जवाफ दिए– म त अझै जवान नै छु।

आफू अझै तन्नेरी रहेको बताउनु पछिल्लो समय ओलीको थेगो जस्तै बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad