राजनीति


पटक–पटक अवसर पाएकाहरूबाटै पार्टी जोगाउन नसक्ने भइयो: प्रदीप ज्ञवाली

पटक–पटक अवसर पाएकाहरूबाटै पार्टी जोगाउन नसक्ने भइयो: प्रदीप ज्ञवाली

नेपालखबर
बैशाख २९, २०८२ सोमबार १५:३२, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले पटक–पटक अवसर पाएकाहरूबाटै पार्टी जोगाउन मुस्किल परिरहेको बताएका छन्।

नेकपा एमाले दोलखा–काठमाडौँ सम्पर्क मञ्चले पार्टीका स्वर्गीय नेता पशुपति चौलागाईंको स्मृतिमा आइतबार आयोजना गरेको चौथो स्मृति सभालाई सम्बोधन गर्दै उनले पटक–पटक अवसर प्राप्त गर्नेहरू नै असन्तुष्ट बनी पार्टीमाथि निरन्तर प्रहार गर्ने प्रवृत्ति बढेको बताएका हुन्।

स्वर्गीय नेता पशुपति चौलागाईंको निरन्तरता, निष्ठा र इमानदारिता स्मरण गर्दै उपमहासचिव ज्ञवालीले भने, ‘अहिले राजनीतिमा धेरै खालका विकृतिहरू देखिन थालेको छ। पार्टीमा लामो समय काम गर्दा पनि एउटा वडा अध्यक्षको टिकटसम्म नपाएका मान्छे निरन्तर पार्टी काममा खटिइहरेका छन्, तर पार्टीमा पटक–पटक अवसर प्राप्त गर्नेहरू भने सधैँ असन्तुष्ट बन्ने र पार्टीमाथि घात–प्रतिघात अनि विभाजनको स्थितिसम्म पुर्‍याउने गम्भीर प्रवृत्ति बढेर गएको छ। यो हाम्रो चुनौती पनि हो।’

निष्ठा र इमानदारिताको राजनीति गर्नेहरूमा व्यक्तिगत अपेक्षा केही नदेखिएको तथा पार्टीको विजयमा खुसी बन्ने गरेको भए पनि एक पटक अवसर पाएकाहरू पटक–पटक अवसर खोजिरहने र नपाए पार्टीविरोधी गतिविधिमा लाग्ने गरेको उनको भनाइ छ।

‘एकपटक अवसर पायो र दोस्रोपटक अवसर पाएन भने असहयोगी बन्दिने, दोस्रोचोटी पायो तेस्रो चोटी पाएन भने घात गर्न थाल्ने, तेस्रो चोटी पायो चौथो चोटी पाएन भने पार्टी विभाजनमा जाने, अहिले विभाजनमा देखिएका पात्रहरूको यसो अनुहार हेर्नुहोस् त कतिचोटी प्रधानमन्त्री भएका, मन्त्री भएका, सांसद भएका, मेयर भएका पटक–पटक अवसर पाएका साथीहरू हुनुहुन्छ,’ उपमहासचिव ज्ञवालीले भने, ‘जति धेरै अवसर पायो त्यत्ति धेरै गुनासो, जति धेरै अवसर पायो त्यति धेरै घात, मैलेबाहेक अरु कसैले पाउन हुँदैन, मैले अरुलाई ठाउँ दिनुहुन्न भन्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा नचाहँदोगरी भित्रिन थालेको छ। यो कुराहरूलाई परास्त गर्नका लागि हामीले पशुपति चौलागाईंलाई सम्झिनुपर्छ।’

यस्तै, उनले अब कोरा राजनीति गर्नेर जनतासँग जोडि नसकिने बताएका छन्। जनतासँग जोडिने राजनीतिका लागि जनताको दैनिक जीवनसँग जोड्ने वा जनताको जीवनस्तरलाई माथि उठाउनका लागि राजनीतिक केन्द्रित गर्नुपर्ने उनको भनाइ छ। 

‘अब हाम्रो राजनीति केवल कोरा राजनीति होइन, जनताको जीवनसँग जोडिएको, जनताको समृद्धिसँग जोडिएको, जनताको विकाससँग जोडिएको राजनीति हुनुपर्छ। राजनीतिले डेलिभरी दिन सकेन, जनताको जीवनमा परिणाम ल्याउन सकेन, परिवर्तन ल्याउन सकेन भने त्यो कोरा राजनीति हुन्छ,’ उनले भने, ‘पशुपति चौलागाईंलाई स्मरण गरिरहँदा हामीले हाम्रो राजनीतिलाई जनताको दैनन्दिन जीवनसँग जोड्ने वा जनताको जीवनस्तरलाई माथि उठाउनका लागि केन्द्रित गर्नुपर्दछ।’

उपमहासचिव ज्ञवालीले कार्यकर्ताका कुरा सुन्ने, आफ्नो कुरा प्रष्ट राख्ने, पब्लिक रिलेशन राम्रो राख्ने नेताका रूपमा पहुपति चौलागाईंलाई सम्झिरहेको र त्यस्ता नेताको लिगेसी, स्मृति र असलतालाई निरन्तर अगाडि बढाउने प्रयास गरेकोमा दोलखा–काठमाडौं सम्पर्क मञ्च र जिल्ला कमिटी दोलखालाईसमेत धन्यवाद ज्ञापन गरे । कार्यक्रममा सम्पर्क मञ्चले वर्ष २०८२ का लागि तयार पारेको आकर्षक भित्तेपात्रो पनि विमोचन गरिएको थियो।

उपमहासचिव ज्ञवालीको प्रमुख आतिथ्यता र सम्पर्क मञ्चका अध्यक्ष उमेश खड्काको अध्यक्षतामा आयोजित स्मृति सभामा पूर्वमन्त्री समेत रहेका पोलिटव्युरो सदस्यद्वय आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङ, पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य सरस्वती बस्नेत, संविधान सभा सदस्य एवम् केन्द्रीय लेखा आयोग सदस्य शान्ति पाख्रिन, केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेत, उद्योग व्यवसायी महासंघका महासचिव एवम् बागमती प्रदेश कमिटी सदस्य बालकृष्ण शिबाकोटी तथा नेकपा एमाले जिल्ला कमिटी दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठलगायत नेताहरूको सहभागिता थियो।

सहभागी सबैले स्वर्गीय चौलागाईंको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। तत्कालीन समयमा नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा बागमती प्रदेशका सांसद रहेका नेता चौलागाईंको कोभिड–१९ को सङ्क्रमणबाट चार वर्षअघि ६१ वर्षको उमेरमा निधन भएको थियो। विद्यालयमा पढ्दादेखि नै वामपन्थी आन्दोलनमा होमिएका उनलाई एमालेभित्र निष्ठावान र त्यागी नेताका रूपमा चिनिन्थ्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad