राजनीति


प्रचण्ड घाइते भएपछि रोकियो सुदूरपश्चिमका सांसदसँग छलफल

प्रचण्ड घाइते भएपछि रोकियो सुदूरपश्चिमका सांसदसँग छलफल

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १५:४०, कञ्चनपुर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र सुदूरपश्चिमका सांसदीबीच आज हुने भनिएको छलफल स्थगित भएको छ।

अध्यक्ष दाहाल बाथरुममा लडेर घाइते भएपछि छलफल स्थगित भएको हो। बुधबार बिहान ९ बजे खुमलटारमा छलफल गर्ने भनेर सांसदहरूलाई काठमाडौँ बोलाइएको थियो। सुदूरपश्चिमका माओवादी १० सांसद काठमाडौँमा छन्।

दाहाल घाइते भएपछि छलफल अनिश्चितकालका स्थगित भएको छ। ‘केहीदिन डाक्टरले भेटघाट नगरेर आराम गर्न भनेका छन्। त्यसैले आज उहाँसँग छलफल हुन सकेन,’ माओवादीका एक सांसदले भने, ‘अब कहिले हुन्छ त्यो निश्चित भएको छैन। सूचना आउँछ।’

माओवादी सुदूरपश्चिमभित्रको दल नेताको विवाद समाधान गर्न दाहालले सांसदलाई काठमाडौँ बोलाएका हुन्।

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्टलाई पुनर्बहाली गर्न अध्यक्ष प्रचण्डले दिएको निर्देशन अवेज्ञा भएको छ।

अध्यक्ष प्रचण्डले पटक पटक लिखित र मौखिक निर्देशन दिँदा पनि कार्यान्वयन नगरेर अलपत्र राखिएको छ।

प्रचण्डका लागि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा संसदीय दल नेताको विवाद टाउको दुखाइको विषय बनेको छ। कयौँपटक मौखिक र लिखित रुपमा दल नेताको विवाद सल्ट्याउन प्रचण्डले दिएको निर्देशन पालन भएको छैन।

पछिल्लो पटक दाहालले सांसदहरूलाई आफू कैलाली पुग्नुअघि दल नेताको विवाद साम्य पार्न निर्देशन दिएका थिए। तर त्यसपछि दाहाल २ पटक कैलाली पुगिसके तर निर्देशन कार्यान्वयन भएको छैन।

अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले दुईपटक लिखित रुपमा खगराज भट्टलाई सुदूरपश्चिम प्रदेश संसदीय दल नेतामा पुनर्स्थापित गर्न निर्देशन दिए पनि कार्यान्वयन नभएको हो।

एक वर्ष बितिसक्दा पनि माओवादीको सुदूरपश्चिम संसदीय दलभित्रको विवाद साम्य हुन सकेको छैन। २०८० माघ १२ गते मानबहादुर धामीको नेतृत्वमा बहुमत सांसद जुटाउँदै खगराज भट्टलाई दल नेताबाट हटाइएको थियो।

धामी पक्षले बहुमत जुटाएर दल नेता फेर्नु पर्ने अडान राखेको छ। संसदीय दल नेताबाट भट्टलाई हटाउँदा सभामुखबाहेकका १० सांसदमध्ये भट्टको पक्षमा ४ जना सांसद थिए। धामीको पक्षमा ६ सांसद रहेका थिए।
अहिले माओवादी सुदूरपश्चिम संसदीय दलमा खगराज र मानबहादुर समूहमा ५–५ सांसद छन्। खगराजको पक्षमा शिवसिंह ओली, झपट साउद, रमेश धामी, जानकी पौडेल कुँवर छन्।

मानबहादुरको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल छन्। 

चुनावताका सुदूरपश्चिमको मुख्यमन्त्रीको रुपमा खगराजलाई प्रस्तुत गरिएको थियो।

माओवादी सुदूरपश्चिमको इन्चार्ज समेत रहेका उनलाई दल नेताबाट हटाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad