अबको १० दिनपछि नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्गमा नयाँ अभियान थाल्दैछ। सो अभियान ४५ दिनसम्म चलेको तराई–मधेस जागरण अभियान भन्दा बेग्लै हुने माओवादी केन्द्रका नेताहरू बताउँछन्।
फरक योजना र शैलीका साथ जेठ २ गतेबाट मध्यपहाडी लोकमार्ग अभियान थालिने र यो संगठन विस्तार र सुदृढीकरणमा केन्द्रित हुने माओवादी नेताहरू बताउँछन्। जबकि, फागुन १२ देखि वैशाख १७ गतेसम्मको हुलाकी राजमार्गकेन्द्रित तराई–मधेस जागरण अभियानका क्रममा माओवादीको ध्यान विगतको गल्ती सच्याउने, आफ्नै वर्गतिर फर्कने र केपी शर्मा ओली नेतृत्वको सरकारका गलत कदमको भण्डाफोर गर्नमा थियो।
पहाडका २४ जिल्ला जोड्ने मध्यपहाडी लोकमार्ग अभियान मुख्यतः संगठन विस्तारलाई सघाउ पुग्नेगरी तय गरिएको प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटा बताउँछन्।
१८ सय ७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्ग पूर्वमा नेपाल–भारत सीमानाको पाँचथर चिवा भन्ज्याङबाट सुरू भएर सुदूरपश्चिमको नेपाल–भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ।
लोकमार्ग केन्द्रित अभियानमा करोड बढी जनतासँग प्रत्यक्ष/अप्रत्यक्ष संवाद हुने उनको भनाइ छ।
पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोक लोकमार्गले छुन्छ। काठमाडौँभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडीसम्मलाई छुन्छ।
यसमध्येका करिब आधा जिल्ला माओवादीको प्रभाव क्षेत्र मानिन्छन्। यिनै जिल्लामा माओवादीले जेठ महिनाभर अभियान चलाउने सापकोटाले जानकारी दिए।
हुलाकी राजमार्गकेन्द्रित तराई मधेस जागरण अभियान निकै राम्रो भएपछि अब सबै नेपालीलाई छुनेगरी अर्काे अभियान थाल्न लागेको उनको भनाइ छ।
‘विगतको अभियानले संगठन बढाउन बल पुग्यो। हजारौँको संख्यामा पार्टी प्रवेश गरेका छन्,’ सापकोटाले नेपालखबरसँग भने, ‘कुनै न कुनै रूपमा निष्क्रिय भएर बसेका कार्यकर्ताहरू सक्रिय भए। पुराना कार्यकर्ता फर्किएका छन्। पार्टी छोडेकाहरू घर फर्कने क्रम पनि तीव्र रूपमा बढेको छ। हामीप्रतिको आकर्षण र राजनीतिक प्रभावलाई संगठनमा रूपान्तरण गर्नुपर्ने अबको मुख्य कार्यभार भएको छ, त्यो निर्देशन पार्टीले दिइसकेको छ।’
माओवादी सचिव दीनानाथ शर्माले जनताको बीचमा जान, संगठन केन्द्रित अभियान चलाउन लागिएको बताए।
‘जनतालाई माओवादीप्रति विश्वास दिलाउन र पार्टी निर्माणको मुख्य उद्देश्य हो,’ शर्माले भने, ‘पहिलो अभियानले राष्ट्रिय एकता अभिवृद्धि भयो, जनताको बीचमा राम्रो प्रभाव पर्यो।’
माओवादीले फागुन १२ देखि झापाको कचनकवलबाट हुलाकी राजमार्ग केन्द्रित अभियान थालेको थियो।
१८ सय किलोमिटर लामो सो अभियान वैशाख १७ गते महेन्द्रनगर भीमदत्त नगरपालिकामा पुगेर समापन भएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँले साढे १ महिनामा तराई–मधेसका २० जिल्लामा भएका एकसय बढी सभालाई सम्बोधन गरेका थिए।
त्यसक्रममा एक करोड व्यक्तिसँग औपचारिक र अनौपचारिक अन्तक्र्रिया गरेको उनको भनाइ थियो।
‘हुलाकी मार्गकेन्द्रित अभियान धेरै राम्रो भयो, पिछडिएको, सीमावर्ती क्षेत्र र मधेसतिरको सो अभियानले हामीलाई पूरै उर्जा दिएको छ,’ सापकोटाले भने, ‘अब हामीले मध्यपहाडी लोकमार्गमा अभियान चलाएपछि एउटा त सन्तुलन मिल्यो, तराईपछि पहाड चढियो। अर्काे, करिबकरिब सबैतिरका जनतासँग भेट पनि हुन्छ।’
मध्यपहाड केन्द्रित अभियानमा एक करोडसँग साक्षात्कार हुने उनी बताउँछन्।
माओवादी महासचिव देव गुरूङले मौसमले साथ दिएसम्म सबै जिल्लामा जनसभा हुने बताए।
‘बर्खाको समय छ, मौसमले साथ दिएसम्म जनसभाको कार्यक्रम बनाएका छौँ,’ गुरूङले भने, ‘सबै ठाउँमा जनता भेटघाट, अन्तर्क्रिया र सुझाव संकलन गर्ने हाम्रो अभियान हो।’
तराई–मधेस जागरण अभियानमा अध्यक्ष प्रचण्ड चर्चामा रहे।
उनले गरेको मर्निङ वाक, जनतासँगको कुराकानी, जुन जिल्लामा जे पाइन्छ, सोही अनुसारको पहिरन, स्थानीय खाना आदि समाचार बने। अभियानका क्रममा उनी सधैँजसो जिल्लामा रहेका सहिद परिवारकै घरमा सुते। त्यसलाई मध्यपहाडी लोकमार्गमा पनि निरन्तरता दिइने छ।
‘पहिलाकोमा अलि परिमार्जन हुन्छ। अलि बृहत् खालको हुन्छ,’ उपाध्यक्ष सापकोटा भन्छन्, ‘सहिद परिवारकोमा बस्ने, खाने हुन्छ। तर, पहिलाजस्तो घनीभूत हुँदैन, सभा, जनसंवाद गुणात्मक खालको हुन्छ।’
ध्यान सरकारतिर कि अभियानमा?
पछिल्लो समय नेपाली कांग्रेस–नेकपा एमालेबीच मतभेद देखिएकाले कांग्रेसका पदाधिकारीहरू नै असन्तुष्ट छन्। सोही कारण सरकारको आयुबारे अनेक आशंका हुन थालेका छन्।
तर, माओवादी केन्द्रका नेताहरू पनि सरकार ढल्ने बताउन थालेका थिए। तर, सोमबार अध्यक्ष प्रचण्डले आफ्नो ध्यान सरकारतिर नरहेको बताएका छन्।
तराई–मधेस जागरण अभियानमा पाएको जनताको साथले हौसिएको माओवादी जनतातिरै फर्कने निष्कर्षमा पुगेको सापकोटाको भनाइ छ।
‘अहिले हामी जनतातिरै छौँ। हाम्रो सम्पूर्ण ध्यान जनतातिरै छ, वर्गतिरै छ। अभियानतिरै छ,’ उनले भने, ‘सरकार आफ्नै भारले ढल्छ।’
Shares

प्रतिक्रिया