आजदेखि संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ।
सोमबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा र दिउँसाे सवा १ बजे बस्ने राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल आरम्भ हुने संसद् सचिवालयले जनाएको छ।
संसद्का दुवै सदनको बैठकको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।
बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
राष्ट्रपति रामचन्द्र पौडेलले गएको शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
संसद्मा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि ५१ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधिसभामा ३७ र राष्ट्रिय सभामा १४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका संसद् सचिवालयले जनाएको छ।
संसद्का दुवै सदनबाट यही वैशाख २८ गते नीति तथा कार्यक्रम पारित गर्ने तय भएको छ।

Shares

प्रतिक्रिया