राष्ट्रिय सभाले बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ स्वीकार गरेको छ।
राष्ट्रिय सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत भएको सभाअध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे।
यसअघि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले परिषद्को बैठक तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको उपस्थितिमा गणपूरक संख्या पुगेको मानेर निर्णय गर्ने प्रावधान विधेयकमा राखिएको जानकारी दिए।
उनका अनुसार तत्काल बहाल रहेका सबै परिषद् सदस्य उपस्थिति हुनुपर्ने व्यवस्था कायमै रहेको छ। यसमा सबै सदस्य उपस्थित नभएमा वा उपदफा ६ बमोजिम सर्वसम्मति कायम गर्न नसकेका खण्डमा अर्को बैठक बोलाउने र उक्त बैठकमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्य उपस्थिति रहेका खण्डमा निर्णय गर्ने प्रबन्ध गरिएको छ।
परिषद्को बैठकमा सबै सदस्य उपस्थित नभएमा निर्णय गर्न दफा ७ को व्यवस्था गरिएको छ। मन्त्री गुरुङले विधेयकलाई प्रक्रियामा लगेर व्यापक छलफल गरी चाँडो टुङ्ग्याउन अनुरोध पनि गरे।
उक्त विधेयक प्रतिनिधिसभमा उत्पत्ति भएर प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएपछि राष्ट्रियसभामा पेस भएको सञ्चारमन्त्री गुरुङले जानकारी दिए।
त्यसअघि विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद डा वेदुराम भुसालले विधेयकमा परिषद्को गणपूरक सङ्ख्या कति हुने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने बताए।
उनले यस विषयलाई समितिमा लगेर छलफल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। सांसद मृगेन्द्रसिंह यादवले विधेयकका विषयमा समितिमा लगेर बृहत् छलफल गर्नुपर्ने भनाइ व्यक्त गरे।
सांसद मायाप्रसाद शर्माले केही विषय अस्पष्ट भएकाले समितिमा नै पठाएर छलफल गरे सार्थक हुने बताए। सांसद गङ्गाकुमारी बेलवासेले प्रतिनिधिसभाले छलफल गरेको विषयवस्तु सार्थक भएको तर ५० प्रतिशत भन्ने विषयवस्तुलाई अझ बृहत् छलफल गर्न आवश्यक रहेको धारणा राखिन्।
बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिबाट प्राप्त सन्देशहरू सभासमक्ष टेबुल गरेका थिए।
सभाको अर्को बैठक यही वैशाख २२ गते सोमबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ।
Shares

प्रतिक्रिया