सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू व्यक्तिगतरुपमा र आफ्नो पार्टी पनि अहिलेसम्म नेकपा एमालेसँग सत्तासाझेदारी गर्न गरेको सहमतिको विकल्प खोज्नुर्पछ भन्नेमा नरहेको बताएका छन्।
‘यो क्षणसम्म व्यक्तिगत रुपमा पनि र पार्टीको संस्थागत हिसाबमा पनि हामी एमालेसँग गरेको समझदारीको विकल्प खोज्नुपर्छ भन्ने कुराको प्रारम्भिक चरणमा पनि छैनौँ,’ उनको भनाइ छ, ‘मैले अघि पनि भनेँ कि गरेको राजनीतिक समझदारीप्रति इमान्दार हुने र त्यसलाई कार्यान्वयन गर्ने जुन हामीले प्रतिष्ठा आर्जन गरेका छौँ, हामी त्यसलाई निरन्तरता दिन चाहन्छौँ।’
थापाले यस्तो खालको विकल्पका बारेमा आफूहरुले चिन्तनसम्म नगरेको दाबी गरे। उनले भने, ‘अहिले त्यस्तो खालको विकल्पको बारेमा न सोचेका छौँ, न चिन्तन गरेका छौँ न हामीबीचमा कुनै छलफल नै गरेका छौँ।’
तर, अहिलेको सरकारले केही जोखिम उठाएर भए पनि केही क्षेत्रमा एक्सन लिनुपर्नेमा थापाको जोड छ। ‘हाम्रो अहिलेको एउटै सर्त भनेको नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारले केही जोखिम उठाउनु पर्यो,’ उनको भनाइ छ, ‘सुशासनको सन्दर्भमा आर्थिक क्षेत्रमा ल्याउने सुधारका सन्दर्भमा, मानिसहरुमा भएको बेचैनीलाई कम गर्ने बाटोतफै उद्यत छ भन्ने उसलाई महशुस गराउनु पर्यो आफ्ना एक्शनहरुबाट। अहिलेलाई यत्तिनै खोजेको हो।’
Shares

प्रतिक्रिया