राजनीति


पार्टीका विभागहरू सक्रिय हुँदा ऊर्जा थपेको छ : सभापति देउवा

पार्टीका विभागहरू सक्रिय हुँदा ऊर्जा थपेको छ : सभापति देउवा

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १८:१४, ललितपुर

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपिएको बताएका छन्।

कांग्रेस पार्टीको विपन्न उत्थान समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सुझाव सहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील, सशक्त र प्रभावकारी बनाएको बताए।

‘प्रतिवेदन विपन्न लक्षित नीतिगत सुधारका लागि महत्त्वपूर्ण छ, निकै मेहनत गर्नुभएको छ, पार्टीको सबै तहका संरचना र निर्वाचित जनप्रतिनिधिलाई काम लाग्ने सुझावहरू छन्, यसलाई पार्टीले महत्त्वपूर्ण दस्तावेजका रूपमा स्वीकार गरेको छ, महत्त्वपूर्ण सुझाव छन्, भोलिका दिनमा ती सुझाव हेर्नेछौँ। केही सुझाव हेर्दा खर्चिलो पनि छन्’, सभापति देउवाले भने। उनले नेपालको अर्थतन्त्रले भ्याएसम्म विभागले दिएको सुझाव कार्यान्वयन गर्न लाग्ने प्रतिबद्धता जर्नाए। ‘विभागले दिएका अधिकांश सुझाव कार्यान्वयनमा लैजान सक्ने खालका छन्, पार्टीमा छलफल गरेर आवश्यक निर्णय गर्नेछौँ, भावी योजना तयका लागि महत्त्वपूर्ण हुनेछ’, उनले भने।

उपसभापति धनराज गुरुङले नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा आएको प्रतिवेदन महत्त्वपूर्ण भएको बताए। ‘गरिब र विपन्नलाई दुईचार टुक्रा जग्गा बाँड्ने गफभन्दा पनि उसको भविष्य उज्ज्वल बनाउन सक्ने गरी सीप, शक्ति र सामथ्र्य दिन सक्नुपर्छ, हामीले दिने सामाजिक भत्ता पनि वैज्ञानिक छैन, सम्पन्न र विपन्नलाई एउटै छ, सम्पन्न मानिसलाई चार हजार भत्ता दिएर विपन्नलाई न्याय गर्न सकिँदैन, अहिले कांग्रेस सरकारमा छ, विपन्नलाई समेट्ने गरी नीति बनाउनुपर्छ, शिक्षा र स्वास्थ्यमा विपन्नका समस्यालाई सम्बोधन गर्न सक्नुपर्छ’, उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad