राजनीति


प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयो: वर्षमान

प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयो: वर्षमान

फाइल तस्बिर


नेपालखबर
बैशाख १५, २०८२ सोमबार १४:२८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद् वर्षमान पुन (अनन्त)ले जारी शिक्षक आन्दोलन समाधान गर्नुको साटो सरकार दमनमा उत्रिएको भन्दै आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पुनले शिक्षकका माग सुन्नुको साटो सरकारले दमनको भाषा बोलेको बताए।

आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार बानेश्वर क्षेत्रमा झडप भएको थियो। प्रहरीले पानीको फोहोरा र लाठी चार्ज गर्दा एक सञ्चारकर्मीसहित ६० बढी शिक्षक घाइते भए।

पुनले विगतमा सरकारसँग तीन चरणमा भएका सहमति पालना गर्न सरकारको ध्यानाकर्षण गराए। ‘करिब एक महिनादेखि पेसागत माग राखेर शिक्षकहरू सडक आन्दोलनमा छन्। विगतमा तीन चरणमा भएका सहमति पालना गर्नुको सट्टा सरकारले दमनको भाषा बोलेको छ’, पुनले भने, ‘यसको म निन्दा र भर्त्सना गर्दछु ।’

लोकतन्त्रमा जनताका आवाज र असन्तुष्टिको समाधान वार्ता र संवादबाट खोजिनुपर्नेमा प्रधानमन्त्री केपी ओलीले नै बल प्रयोग र हठ प्रदर्शन गरेको टिप्पणी पुनको थियो।

‘लोकतन्त्रमा जनताका असन्तुष्टि र मागको सम्बोधन संवादबाट हुनुपर्ने हो’, उनले भने, ‘प्रधानमन्त्री नै शिक्षकहरूप्रति बल प्रयोग र हठको भाषा बोलिरहनुभएको छ।’

पुनले तत्काल वार्ता गरी शिक्षकहरूका जायज माग सम्बोधन गर्न आफ्नो दलका तर्फबाट माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad