हैदर अलियेभ फाउन्डेसनकी उपाध्यक्ष तथा अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभकी छोरी लैला अलियेभाले आफ्नो राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेकी छिन्।
भेटका क्रममा उनले अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभको शुभकामना सन्देश राष्ट्रपति पौडेललाई हस्तान्तरण गरिन्। त्यस क्रममा उनले दुवै देशबीचको मित्रताको महत्त्वमाथि पनि जोड दिइन्।
त्यस क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कोप-२९ को समयमा बाकु भ्रमण गरेको स्मरण गर्दै राष्ट्रपति इल्हाम अलियेभसँगको भेटलाई अत्यन्तै महत्त्वपूर्ण भएको बताए।
दुवै राष्ट्रबीचको सम्बन्ध विकासमा सो छलफलले योगदान गर्ने पनि उनले उल्लेख गरे।
लैला अलियेभाले हैदर अलियेभ फाउन्डेसनले नेपालमा विशेष स्याहार आवश्यक पर्ने बालबालिकाका लागि पुनर्स्थापना केन्द्र निर्माण गर्ने योजना बनाएको जानकारी गराइन्। साथै, आफ्नो नेपाल भ्रमणको क्रममा काठमाडौँस्थित एक अस्पतालको पनि भ्रमण गरेको उनले बताइन्।
लैला अलिएबाले क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा शुक्रबार आकस्मिक निरीक्षण भ्रमण गर्दै पाँच लाख रुपैयाँबराबरको सहायता प्रदान गरेकी थिइन्। गत बिहीबार बेलुका चार्टर्ड विमानमार्फत १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएकी अलियेभले भ्रमण टोलीका सदस्यहरूसहित शुक्रबार साँझ क्षेत्रपाटी निःशुल्क चिकित्सालय निरीक्षण गर्दै अतिथि स्वागत पुस्तिकामा हस्ताक्षर गर्दै उपस्थिति समेत जनाएकी थिइन्।

निरीक्षण भ्रमणका क्रममा उक्त सहायता हस्तान्तरण गर्नुका साथै क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू र अजरबैजनका चिकित्सकहरू आदानप्रदान गर्ने सहमति भएको छ।
अलिएभले चिकित्सालयलाई थप सहयोग गर्ने आश्वासन दिएकी छिन्। सहयोग कार्यक्रममा चिकित्सालयका अध्यक्ष डा मनोजमान श्रेष्ठले अजरबैजानका राष्ट्रपतिकी छोरीलगायतको टिमको स्वागत गरेका थिए।
आइतबारको भेटवार्तामा उनले राष्ट्रपतिसँग हैदर अलियेभ फाउन्डेसनले नेपालका सामाजिक र स्वास्थ्य क्षेत्रमा काम गर्न चाहेको उल्लेख गरिन्।
राष्ट्रपति रामचन्द्र पौडेलले अजरबैजान र नेपालबीचको सम्बन्ध र हैदर अलियेभ फाउण्डेसनका गतिविधिप्रति उच्च प्रशंसा व्यक्त गर्दै प्रदान गरिएको सहयोगको लागि धन्यवाद ज्ञापन पनि गरे।
Shares

प्रतिक्रिया