राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्यसत्तामा रहेकाहरूको कमजोरीकै कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको बताएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन्। उनले सत्तामा गएकाहरूले अप्ठ्यारो परेको बेला सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण व्यवस्थामाति खतरा बढेको बताए। उनले लोकतन्त्र र गणतन्त्रमाथि भइरहेको व्यापक हमलाको समाधान सबै दलहरू मिलेर गर्नुपर्ने समेत बताए।
अध्यक्ष केसीले सत्तामा बसेकाहरू नै भ्रष्टाचारमा लिप्त र व्यवस्थाविरोधी काम गरिरहे जनतालाई सम्झाउन नसकिने उनको भनाइ छ।
उनले भने, ‘सत्ता र शक्तिमा गएकाले जब अप्ठ्यारो पर्छ सम्झौता गर्ने, सम्झौतालाई कार्यान्वयन नै नगरिदिने। ०४६ सालको कुरा भन्नुस्, २०६२/०६३ सालको कुरा भन्नुस्। अहिले पनि हजारौँ शिक्षकहरू सडकमा छन्। चारैतिरबाट जुन लोकतन्त्र र गणतन्त्रमाथि व्यापक हमला भइरहेको छ यसमा हामी सबै मिलेर समाधान गर्ने हो। हामी आफूले भ्रष्टाचार गरेका छौँ, लोकतन्त्र र गणतन्त्रविरोधी आचरण गरिराखेका छौँ भने जनतालाई कसरी तपाईंहरुले सम्झाउन सक्नुहुन्छ? आफ्नो साथमा भएकाहरूले भ्रष्टाचार गरेपनि लुटेपनि केही नहुने त्यसभन्दा बाहिरकालाई कारबाही हुने कुरा त जनताले हेरिराखेको छ नि।’
अध्यक्ष केसीले अहिलेपनि कतिपय जिल्लामा २० रुपैयाँ तिरेर बाँसको पुल तर्नुपर्ने बाध्यतामा जनता रहेको बताए। उनले त्यही हो तपाईहरुले संघीयता ल्याएर स्विट्जल्याण्ड बनाएको नेपाल? भन्दै प्रश्न समेत गरे।
Shares

प्रतिक्रिया