राजनीति


भूकम्पबाट नभत्किने घर बनाउन व्यक्ति आफैँ सचेत हुनुपर्छः प्रधानमन्त्री ओली

भूकम्पबाट नभत्किने घर बनाउन व्यक्ति आफैँ सचेत हुनुपर्छः प्रधानमन्त्री ओली

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १५:२३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

शुक्रबार काठमाडौँमा गोरखा भूकम्पको १० औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले २०७२ सालको भूकम्पको क्षति नेपालको आर्थिक अवस्था, बजेट र क्षमताले पुनःनिर्माण भ्याउनसक्ने अवस्था नरहेको बताए। उनले विपद्बाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरु बनाउनुपर्ने आवश्यकता रहेको बताए। 

विपद्बाट संरचनाको क्षति हुन पर्खिने नभइ क्षति हुनै नदिने गरी आवश्यक काम गर्नुपर्नेमा जोड दिए। उनले प्राकृतिक विपत्तिसम्बन्धी पूर्वतयारीमा विशेष जोड दिन आग्रह गरे। भूकम्प गएर भत्किसकेपछि घर पुनःनिर्माण गर्ने भन्दा पहिला नै सुरक्षित भएर बस्ने बाटोमा लाग्नुपर्ने बताए। यस बाटोबाटै सुरक्षित नेपाल निर्माण गर्न सकिने उल्लेख गरे।

प्रधानमन्त्री ओलीले भने, ‘२०७२ सालको भूकम्प जस्तो कुरा हाम्रो राष्ट्रले जतिसुकै रिजिलिएन्स भनेपनि हाम्रो राष्ट्रको आर्थिक अवस्थाले, बजेटले, हाम्रो क्षमताले पुनःनिर्माण भ्याउनसक्ने अवस्था होइन। यसो भएर हामीले पहिला त्यसबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरु बनाउनुपर्ने आवश्यकता छ। भत्किउन्जेल पर्खिने होइन, सकेसम्म पहिला नै कच्चा घर... हाम्रा पहाडतिर प्रायः घरहरु कस्ता छन् भने डल्ला डल्ला ढुंगा, नमिलाएका ढुंगा त्यस्ता ढुंगाहरुमा माटो मिसाएर त्यत्तिकै एउटा पर्खाल लगाएको हुन्छ। अलिकति हल्लियो भने त्यो भत्किहाल्छ। धन्न भन्नुपर्छ, अहिलेसम्म पनि कतिपय यस्ता घरहरु बाँकी नै छन्। ति घरहरुलाई आफैँले हरेक व्यक्तिले पनि आफ्ना घरहरुलाई सुरक्षित कसरी बनाउने रु भन्नेकुरामा ध्यान दिनुपर्छ।’

प्रधानमन्त्री ओलीले जस्तोसुकै समयमा पनि सुरक्षित हुने विधि अवलम्वन गर्न जरुरी रहेको बताए। उनले २०७२ को भूकम्पमा सुरक्षा, आम नागरिकहरुले गरेको सहयोग असाधारण रहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad