सिके राउत नेतृत्वको जनमत पार्टी र रेश चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकता हुने भएको छ।
अध्यक्ष राउतले एकताको घोषणा गर्दै अब दुई पार्टी मजबुत भएर अगाडि जाने बताए। ‘जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढने नै छौँ,एकता हुन्छ नै,’ उलने भनेका छन्, ‘यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्तिबीच घोषणाको तयारी गर्दैछौँ।'
यसअघि वैशाख १५ गतेभित्र एकता गर्नेगरी तयारी गरेको थियो। तर, विभिन्न अडचन आएको राउतले बताएका छन्। ‘परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधनस्रोत प्रयोग गरेर होस्, कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूस्ताहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरीद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राऊ गराइदिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन्,’ उनको भनाइ छ,‘ तर हामी आत्तिएका छैनौं। तपाईंहरू पनि नआत्तिनुहोला। जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढने नै छौं। एकता हुन्छ नै।’
दुवैपार्टी बीच एकतका लागि कार्यदल गठन गरिएको थियो। कार्यदलले दुई पार्टीबीच एकतापछि हुने पार्टीको नाम, नेतृत्व, चुनाव चिह्न लगायतका विषय टुंग्याएको छ।
कार्यदलका अनुसार एकतापछि नयाँ पार्टीको नाम नागरिक जनमत हुनेछ भने ढकिया चुनाव चिह्न रहनेछ। पार्टीको संरक्षक रेशम चौधरी रहँदा कार्यकारी अध्यक्ष सिके राउत रहनेछन्। नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ सहअध्यक्ष रहने छिन्।
२०७५ सालमा गठन भएको राउत नेतृत्वको जनमत र डिल्लीबजार कारागारमै छँदा रेशम चौधरीले २०७८ सालमा श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन गरेको नाउपाबीच छिट्टै एकता गर्ने तय भएको थियो।
प्रतिनिधि सभामा जनमत पार्टीका ६ सांसद छन्। यस्तै, नाउपाका ४ जना छन्। एकतापछि नयाँ पार्टी प्रतिनिधिसभामा १० सिटको पार्टी हुनेछ।
नाउपाका संरक्षक चौधरी आफैँ एकताका लागि छलफलमा थिए। दुई महिनाभन्दा बढी समयदेखि जनमतसँग उनको पटकपटक छलफल भएको थियो। स्वतन्त्र मधेस अभियान चलाइरहेका राउतले २०७५ चैत ५ गते आफ्नै नेतृत्वमा सिरहाको लहानबाट जनमत पार्टी गठन गरेका थिए।
यस्तै, २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको हो। जुनबेला चौधरी टीकापुर काण्डका प्रमुख आरोपितका रूपमा जेलमै थिए। पार्टी गठन गरेको एक वर्षमै नाउपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४ सांसद जितेको थियो।
उता जनमत पार्टी त प्रतिनिधि सभामा राष्ट्रिय पार्टी नै बन्यो। प्रत्यक्षमा राउतले जितेका थिए। बाँकी ५ सांसद समानुपातिकतर्फका हुन्। मधेस प्रदेश सभामा जनमतका १३ सांसद छन्।
(वैशाख १७ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।–सम्पादक)
Shares

प्रतिक्रिया