शिक्षक नेताहरूले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा शिक्षक आन्दोलनसँग सम्बन्धित नरहेको बताएका छन्।
शिक्षक आन्दोलनका मुद्दा सम्बोधनका लागि ७ बुँदे प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेस गर्ने तयारीमा रहेकी मन्त्री भट्टराईले सोमबार एकाएक राजीनामा दिएकी थिइन्।
नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले भने मन्त्री भट्टराईले आफ्नै कारणले छाडेर हिँडेको प्रतिक्रिया दिएका छन्।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नेपालखबरसँग सोमबार राति भने, ‘शिक्षक आन्दोलन र शिक्षा मन्त्रीको राजीनामाबीच कुनै साइनो छैन। शिक्षा ऐन नलिई गइँदैन। आन्दोलन जारी छ।’
उनले मन्त्रीबाट आफ्ना माग पूरा नहुने भएकाले पनि राजीनामाबाट आफूहरूलाई केही फरक नपरेको पनि बताएका छन्।
‘मन्त्रीले हाम्रो माग पूरा गर्ने होइन,’ अध्यक्ष सुवेदीले भने, ‘मन्त्रीबाट केही हुनेवाला पनि थिएन। हामीले मन्त्रीको राजीनामा मागेको पनि होइन। उहाँ आफ्नै कारणले छोड्नुभएको हो।’
महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले पनि मन्त्रीको राजीनामा शिक्षकहरूले नमागेको र यसबीचमा भेट पनि नभएको बताएकी छन्।
उनले नेपालखबरसँग भनिन्, ‘हामीले मन्त्रीको राजीनामा मागेको होइन। किन दिनुभयो राजीनामा? हामी र मन्त्रीको राजीनामा सम्बन्धित छैन। हामीले धेरै भेटेका पनि छैनौँ। अब माग पूरा गर्न सक्दिनँ होला भन्ने लाग्यो होला।’
शिक्षक महासंघको आह्वानमा देशभरिबाट आएका शिक्षकहरू विगत २० दिनदेखि काठमाडौँमा प्रदर्शनरत छन्।
उनीहरूले आफ्ना माग सम्बोधन गरी विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्नुपर्ने अडान राखेका छन्।
Shares

प्रतिक्रिया