परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्यको विकास हुँदै गएको बताएकी छन्।
बिहीबार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। राजनीति गर्नेहरुकै कारण मुलुकमा सधै.ँ असहज परिस्थिति बन्ने गरेको तर्क गरिन्।
उनले सही किसिमको राजनीति नभएकै कारण युवाहरू विदेश पलायन हुने र देशभित्र आन्दोलन भइरहने स्थिति आएको समेत बताइन्।
परराष्ट्रमन्त्री राणाले भनिन्, ‘किन हाम्रो देशमा सधैँ संघर्ष हुन्छ। कहिले सडक आन्दोलन, कहिले धर्ना। किन हामी यसमा समय खर्च गरिरहेका छौँ? यो एउटा गम्भीर प्रश्न बन्दै गएको छ। कहिले काँही लाग्छ कि हामी राजनीति गर्ने मान्छेहरु नै यसको दोषि हो की। जहिले पनि एउटा किसिमको असहज परिस्थिति बनाइराख्ने, यो पुगेको छैन, त्यो पुगेको छैन, देश खत्तम भयो भन्ने सोचको विकास गरेर लग्ने यो हामी राजनीति गर्नेहरुकै दोष हो कि जस्तो पनि लाग्छ।’
उनले आफू परराष्ट्रमन्त्री भइसकेपछि विदेश भ्रमणका क्रममा कसैबाट पनि नेपालप्रति नकारात्मक प्रतिक्रिया नपाएको सुनाइन्। नेपाललाई हेर्ने विश्व समाजको नजर एकदमै सकारात्मक रहेको उनको भनाइ छ।
उनले भनिन, ‘अहिले म परराष्ट्रमन्त्री भएपछि धेरै देशहरु गएँ। धेरै देशको मान्छेहरुसँग मैले आफ्नो कुराहरु आदान प्रदान गर्ने मौका पाएँ। तर अहिलेसम्म एउटा मान्छे पनि भेटिन जसले तिम्रो देश खत्तम भयो, विकास भएको छैन, तिमीहरूको देशमा आउँदिन भन्ने एउटा पनि मान्छे भेटिनँ। हामी नेपालीलाई हेर्ने दुनियाँको नजर एकदमै सकारात्मक छ। हामी देशभित्र बस्नेले चाँही किन नकारात्मक बनाइरहेका छौँ?’
सबैले आफ्नो मुलुकलाई चिनेर समृद्धिको यात्रामा अघि बढ्न जरुरी रहेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया