महिनौँ दिनको अन्तरालमा पेसी तोक्ने गरेको सर्वोच्च अदालतले संवैधानिक नियुक्ति विवादमा यसपाली चाँडै नै पेसी तोकेको छ।
सर्वोच्च प्रशासनका अनुसार आउँदो आइतबार (वैशाख ७ गते) नै अर्को पेसी तोकिएको छ।
स्रोतका अनुसार, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले भोलि बिहीबार नै पेसीमा चढाएर लगातार सुनुवाइ गर्ने भनेका थिए। तर, केही न्यायाधीशले अर्को पूर्वनिर्धारित इजलास भएका कारण संवैधानिक इजलासमा बस्न नभ्याइने बताएपछि राउतले नै आइतबार तोक्न भनेका हुन्।
सामान्यतः संवैधानिक इजलास बुधबार मात्र बस्ने गरेको छ। यही विवादमा पनि यसअघि ४ दिन सुनुवाइ हुँदा बुधबार मात्र पेसी तोकिएको थियो।
यसपालि भने बुधबार पनि नपर्खी चार दिनभित्रैको पेसी तोकेको हो।
‘सम्माननीयज्यू (प्रधानन्यायाधीश)ले आफ्नो विदेश जाने कार्यक्रम छ भन्नुभयो। धेरै पुरानो भइसक्यो, अब धेरै नलम्ब्याऔँ भन्नुभयो,’ सर्वोच्च स्रोतले भन्यो, ‘यही वैशाख १० गते अग्नि सापकोटाविरूद्धको मुद्दाको पेसी छ। यी ठूला मुद्दा सकेर (विदेश) जान पाए हुन्थ्यो भन्ने सम्माननीयज्यूको मनसुवा देखियो।’
चार वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुईपटक गरी ५२ जनालाई अख्तियासहित विभिन्न संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो। ती नियुक्ति गैरकानुनी रहेको दाबी गरी अधिवक्ता ओमप्रकाश अर्यालले २०७७ पुस १ गते पहिलो रिट निवेदन दायर गरेका थिए। त्योसहित अरू १४ वटा निवेदन यही विषयमा परेका छन्। ती सबै निवेदन एकसाथ राखी सुनुवाइ चलिरहेको छ।
लामो समयदेखि विचाराधीन यस विवादको फाइल गत माघ ३० देखि खोलिएको थियो। त्यसपछि फागुन २१ र चैत ६ गते पनि दिनभर सुनुवाइ भएको थियो। बुधबार पनि दिनभर सुनुवाइ गरेको संवैधानिक इजलासले निवेदक तर्फबाट कानुन व्यवसायीलाई बहस छोट्याउन निर्देशन दिएको थियो।
निवेदकको बहस सकिएपछि बुधबार नै सरकारी वकिलले पनि बहस सुरू गरेका छन्।
सरकारी वकिलले २२ वटा प्रश्नमध्ये एउटा प्रश्नको बहस सकेका छन्। बाँकी २३ वटा प्रश्नमा आइतबार बहस गर्नेछन्। त्यसपछि विपक्षी ५२ जना संवैधानिक पदाधिकारीका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन्।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्।
Shares

प्रतिक्रिया