ग्लोबल


बेलायती सर्वोच्च अदालतको फैसला : ‘महिला’ शब्दले जन्मजात महिलालाई जनाउँछ

बेलायती सर्वोच्च अदालतको फैसला : ‘महिला’ शब्दले जन्मजात महिलालाई जनाउँछ

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १९:९,

बेलायतको सर्वोच्च अदालतले मुलुकको समानताको कानुनमा रहेको ‘महिला’ शब्दले जन्मजात महिलालाई जनाउने फैसला गरेको छ। 

यो ऐतिहासिक फैसलाको अर्थ हो– महिलाका रुपमा प्रमाणपत्र पाएका ट्रान्सजेन्डरहरूलाई समानताको सन्दर्भमा महिला मानिने छैन। बेलायती सर्वोच्च अदालतले एकमतले सो फैसला गरेको हो। 

यसले बेलायतमा चलिरहेको लामो कानुनी लडाइँलाई टुंग्याइदिएको छ। 

स्कटल्यान्डको फर विमिन स्कटल्यान्ड नामक समूहले सरकारविरुद्ध मुद्दा हालेको थियो। लिंगमा आधारित संरक्षण जन्मजात महिलाका लागि मात्र लागू हुनुपर्ने उनीहरूको तर्क थियो।

तर, स्कटिस सरकारले भने ट्रान्सजेन्डरहरूले पनि जन्मजात महिलासमान लैंगिक संरक्षण पाउनुपर्ने तर्क गरेको थियो।

न्यायाधीश प्याट्रिक हजले पाँच न्यायाधीशको फैसला सुनाउँदै भने, ‘यो अदालतको एकमतको फैसला के छ भने समानता कानुन २०१० मा रहेका महिला र लिंग शब्दहरूले जैविक महिला र जैविक लिंगलाई जनाउँछ।’

तर, यो फैसलालाई एक समूहमाथि अर्कोको जितको रुपमा अर्थ्याउन नहुने अदालतले बताएको छ।

पछिल्लो समय ट्रान्सजेन्डर मुद्दामा बहस चर्किंदै गएको थियो। महिला खेलकुदमा ट्रान्सजेन्डरहरूको सहभागितालाई लिएर विवाद पनि हुँदै आएको थियो। यो फैसलाले ती मामिलामा स्पष्टता दिने अपेक्षा गरिएको छ।

बेलायतको यो मुद्दा भने २०१८ मा स्कटल्यान्डको संसदले पारित गरेको एउटा कानुनका कारण सुरु भएको थियो। सो कानुनले स्कटल्यान्डका सार्वजनिक संस्थाहरूको बोर्डमा महिलालाई ५० प्रतिशत प्रतिनिधित्व दिएको थियो। जसमा महिलाको परिभाषामा ट्रान्सजेन्डर महिला पनि थिए।

यसविरुद्ध सो समूह अदालत गएको थियो। अदालतले लिंगको परिभाषाको जैविकताको सट्टा प्रमाणपत्रमा आधारित भएर गर्ने हो भने समानता कानुन अस्पष्ट हुने र त्यसले काम नगर्ने बताएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad