राजनीति


बजेट अधिवेशनमा शिक्षा विधेयक टुंग्याउन सम्भव छैनः सभामुख घिमिरे

बजेट अधिवेशनमा शिक्षा विधेयक टुंग्याउन सम्भव छैनः सभामुख घिमिरे

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १५:२४, काठमाडौँ

सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकहरूका माग सम्बोधन गर्न सम्भव नरहेको बताएका छन्। घिमिरेले बजेट अधिवेशनमा बजेट सम्बन्धी विषयहरू नै बढी प्राथमिकता दिनुनपर्ने भएकाले शिक्षकहरूका माग सम्बोधन गर्नसक्ने अवस्था नरहेको बताएका हुन्।

उनले बजेट अधिवेशनमा शिक्षा विधेयकलाई एक नम्बरको बुँदामा राखि टुङ्ग्याएर अर्को विषयमा जान सम्भव नरहेको बताए। बजेट अधिवेशनले बजेटसँग सम्बन्धित विषयलाई नै प्राथमिकता दिनुनपर्ने उनको भनाइ छ। 

‘अब आह्वान भएको अधिवेशनले पनि शिक्षा विधेयकलाई तुरुन्तै एक नम्बरको बुँदामा राखेर टुङ्ग्याएर अर्को विषयमा जानु सम्भव छैन। किनभने बजेट अधिवेशनले बजेटसँग सम्बन्धित विषयलाई नै प्राथमिकता दिनुपर्छ,' उनले भने, 'किनभने बजेट जेठ १४ गतेभित्रमा प्रस्तुत भइसक्नुपर्छ र असार मसान्तसम्ममा पारित भइसक्नुपर्छ।कानुनी प्रक्रियाको सीमाभित्रै बसेर काम गर्नुपर्ने बाध्यता हुन्छ।’

यता सरकारले भने शिक्षकहरूको मागलाई प्राथमिकतामा राखेर सरकारले वैशाख १२ गतेका लागि बजेट अधिवेशन आह्वान गरेको छ। साथै शिक्षकलाई वार्तामा बस्न आग्रह गरेको छ। तर शिक्षक महासंघले ऐन जारी हुने विश्वसनीय आधार निर्माण नभएको भन्दै देशभरका शिक्षकहरूलाई माइतीघरमै उपस्थित भएर हाजिर गर्न आग्रह गर्दै आन्दोलन थप सशक्त बनाउने घोषणा गरेको छ। 

सरकारले माग सम्बोधन गर्ने प्रक्रिया सुरु गरेकाले शिक्षकहरू वार्तामा नबसे पनि तत्काल आन्दोलन फिर्ता लिनुपर्ने प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे बताउँछन्। शिक्षकहरूले भनेजस्तो तत्काल विद्यालय शिक्षा ऐन जारी हुन सम्भव नभएको उनको भनाइ छ। घिमिरेकाअनुसार वैशाख १२ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा पनि शिक्षा विधेयक प्राथमिकतामा पर्दैन। 

संघीयता कार्यान्वनका लागि संघीय कानून आवश्यक हुन्छ। विशेष गरी शिक्षा, निजामती तथा प्रहरीका संघीय कानुनको अभावमा प्रदेश तथा स्थानीय तहमा संघीयता कार्यान्वयनमा समस्या भइरहेको छ। तर सभामुख घिमिरे शिक्षा, निजामती, प्रहरीलगायतका विधेयकहरू प्राथमिकताका साथ आउने गरे पनि राजनीतिक दलहरूबीचकै मतभेदका कारण अवरोध हुने गरेको बताउँछन्। विशेष गरी शिक्षा विधेयकका बारेमा सरकार र शिक्षकहरूबीच भएको सहमतिका आधारमा विधेयक ल्याइनुपर्नेमा त्यसो हुन नसक्दा समस्या आएको बताउँछन्।

शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयकमा करिब १८ सय संशोधन परेको उनको भनाइ छ। यसलाई टुङ्ग्याउन राजनीतिक दलहरूबीच सहमति हुनुपर्नेमा उनीहरूबीच नै मतभेद भएकाले तत्काल विधेयकमाथि कुनै कारबाही हुन सकेको छैन।  

शिक्षकहरूको माग पनि स्पष्ट नभएको सभामुख घिमिरे बताउँछन्। शिक्षकहरूले ऐन चाहियो भनेको तर ऐन बनाउने सरकार र संसदको कार्य भएकाले शिक्षकहरूले भने जस्तो तत्काल सम्भव नभएको उनको भनाइ छ।

घिमिरेले सरकारले ऐन बनाउन संसदको अधिवेशनसमेत बोलाइसकेको अवस्थामा शिक्षकहरू वार्तामै नबस्ने भन्नु गैरजिम्मेवार भएको बताए।  शिक्षहरूको माग तलव वृद्धि, ग्रेड वृद्धिलगायतका विभिन्न शीर्षकमा राज्यलाई आर्थिक भार पार्ने खालका रहेकाले यस्तो माग जायज नरहेको सभामुख घिमिरे बताउँछन्।  

सभामुख घिमिरेको भनाइअनुसार माग सम्बोधन गर्ने भने पनि सरकारले शिक्षकहरूको माग जस्ताको त्यस्तै रुपमा पूरा गर्न सक्ने अवस्था छैन। ‘माग पूरा गर्न सरकारको प्रयत्न भइरहँदा आन्दोलन गर्नु र वार्तामा बस्दिनँ भन्नु सही होइन’, सभामुख घिमिरेले भने। 

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले १५ दिनदेखि आन्दोलन गरिरहेका छन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय कार्यसमितिको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलमा आन्दोलन भइरहेको छ।

एक सातासम्मको शान्तिपूर्ण मागमा सरकारले कुनै चासो नदेखाएपछि शिक्षकहरूले चैत २६ गतेदेखि शैक्षिक हड्ताल गरी आन्दोलनलाई थप तीब्रता दिएका छन्। आन्दोलनका क्रममा सरकार र शिक्षक महासंघबीच दुई पटक वार्तासमेत भइसकेको छ। पछिल्लो पटक सरकारले वार्ताका लागि आग्रह गरे पनि ऐन जारी नभएसम्म वार्तामा नबस्ने भन्दै शिक्षकहरू आन्दोलनमै सक्रिय भइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad