अन्तरव्यवस्थापिका संघ (आईपीयू) शान्ति, प्रजातन्त्र, दिगो विकास र न्यायका लागि व्यवस्थापकीय कूटनीति तथा कार्ययोजनाको प्रवर्द्धन गर्ने उद्देश्यले सन् १८८९ मा स्थापना भएको संस्था हो।
लामो इतिहास बोकेको आईपीयूमा नेपाल सदस्य बनेको सन् १९६७ मा हो। अहिले यो संस्थामा नेपालसहित १८३ वटा देशको सहभागिता छ। वर्षमा दुईपटक हुने आईपीयूको सम्मेलनमा संसद्को अभिलेखअनुसार नेपाल सन् १९९१ देखि सहभागी हुँदै आएको छ।
सदस्य बनेको करिब ५८ वर्ष र सहभागी हुन थालेको करिब ३४ वर्षपछि नेपालले आईपीयूमा यसपटक ठूलो सफलता हात पारेको छ।
अन्तरव्यवस्थापिका संघको १५० औँ वार्षिक सभामा नेपालले सहभागिता मात्रै जनाएन। एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य डा अन्जान शाक्य आईपीयूको दिगो विकास स्थायी समितिमा विजयी भइन्।
माल्दिभ्स र इरानका दुई उम्मेदवारलाई पछि पार्दै उज्बेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनमा शाक्य नेपालबाट प्रतिनिधित्व गर्दै विजयी भएकी हुन्।
एसिया–प्रशान्त क्षेत्रबाट ३६ देशको प्रतिनिधित्व भए पनि निर्वाचनमा भने १५ वटा देशको मात्रै प्रतिनिधित्व रहेको थियो। १५ देशमध्ये शाक्यलाई ६ भोट प्राप्त भएको थियो भने माल्दिभ्सले ५ र इरानले ४ भोट मात्रै प्राप्त गरेको थियो। स्थायी समिति आईपीयूको महत्त्वपूर्ण अङ्ग मानिन्छ।
मानव अधिकार, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायतका विषयमा विश्वका सांसदहरूलाई सशक्तीकरण गर्ने उद्देश्यसहित अघि बढिरहेको आईपीयूमा पहिलोपटक त्यो पनि निर्वाचनमार्फत नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँछिन् शाक्य।
संसारभरका १८३ देशका सांसदहरू एकै ठाउँ बसेर जल्दाबल्दा समस्याहरूमा मन्थन गर्दै जवाफदेही ढंगले अघि बढ्ने, सशक्तिकरण गर्ने र सहकार्यका साथ अघि बढ्ने र समाधान निकाल्ने यो मञ्चमा प्रतिनिधित्वका लागि यसपटक नेपाल सरकारले आधिकारिक रुपमा डा शाक्यलाई पठाएको थियो।
‘नेपाल सरकारले मलाई विश्वास गरेर त्यहाँ पठाएको थियो,’ शाक्यले भनिन्,’ नेपाल सरकारले ममाथि विश्वास गरेर पठाएपछि मैले हारजितभन्दा पनि प्रतिनिधित्व ठूलो कुरा हो भनेर आँट गरेँ। मैले मेरो योग्यता, क्षमता र दक्षताको भरपूर उपयोग गरेँ। नेपालको प्रतिनिधित्व गर्दै पहिलोपटक सफलता प्राप्त गर्दा खुसी लागेको छ।’
नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा गरेर आईपीयूको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई सभामुख देवराज घिमिरेले पत्र लेख्दै शाक्यलाई समर्थनका लागि आग्रह गरेका थिए।
त्यो प्रयासका लागि शाक्यले सभामुखलाई धन्यवाद दिइन्। ‘प्रधानमन्त्रीज्युले जुन विश्वासका साथ नेपालको प्रतिनिधित्व गर्ने भनेर पठाउनुभयो म प्रधानमन्त्रीज्यु र नेपाल सरकारलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भनिन्, ‘संघीय संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखाले गरेको विश्वास, पहल र प्रयासले पनि सफलतामा थप सहयोग प्राप्त भयो।’
शाक्यले आफू विजयी हुँदै गर्दा आईपीयूको सचिवालयले ‘नेपाल हामीलाई असाध्यै मनपर्छ। अब आईपीयूमा नेपालको नाम पटक–पटक उठ्नेछ र हामीले नेपालको चर्चा बारम्बार गर्न पाउँनेछौँ’ भन्दा सबैभन्दा बढी खुसी पल त्यही भएको स्मरण गरिन्।
‘आईपीयुका अध्यक्ष तुलिया अक्सन, महासचिव मार्टिन छुङगोङलगायतले पनि नेपालको प्रतिनिधित्व हुँदा खुसी व्यक्त गर्नुभयो,’ शाक्यले भनिन्, ‘उहाँहरू सबैले यो नेपालका लागि ऐतिहासिक क्षण हो भन्दै अब नेपाल आईपीयु र विश्वको पनि अस्तित्वमा रहिरहने र यो नेपालसँगै हाम्रो पनि गैरवको विषय हो’ भन्दा थप हर्षित भएको अनूभूति भयो।’
शाक्यले आफू विजयी भएपछि आईपीयू सचिवालयले नेपालको अगुवाइमा क्षेत्रीयस्तरको कार्यक्रम होस् भन्ने अपेक्षा गरेको पनि शाक्यले जानकारी दिइन्।
आईपीयूमा स्थायी समिति, कार्यकारी समिति, सञ्चालक परिषद्, सल्लाहकार समूह, व्यवस्थापकीय महासचिव संघ, व्यवस्थापकीय पार्लियामेन्टसहित विभिन्न व्यूरो र समूहहरू रहन्छन्।
सांसद शाक्य राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक हुन्।
उनकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ।
त्योसँगै डा शाक्य नोभेम्बर ११ देखि २२ तारिख (कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रको २९औँ सम्मेलन (कोप–२९) मा पनि नेपालको तर्फबाट सहभागी भएकी थिइन्।
उनले अरजरबैजानको बाकुमा सम्पन्न कोप–२९ को मञ्चमा नेपालका तर्फबाट जलवायुसम्बन्धि प्रस्तुति गरेकी थिइन्।
उनको यहि अनुभवलाई ध्यानमा राखेर सरकारले पनि यो पटक आईपीयूमा सहभागी गराउने तयारीसहित उज्ज्वेकिस्तान पठाएको थियो।
‘कार्यकारी समितिमा खाली रहेको पदमा मेरो विगतको अनुभव, कार्यसम्पादन र क्षमतालाई आधार मानेर सरकारले कुटनीतिक प्रयास गर्दै मलाई त्यहाँ पठाएको थियो,’ शाक्यले भनिन्, ‘मैले यसलाई सबैको एकमुष्ठ प्रयासको सफलता ठानेको छु।’
शाक्य आईपीयूको स्थायी समितिमा र सञ्चालक समिति अन्र्तरगत विभिन्न समितिहरू मध्ये स्वास्थ्य समितिमा सांसद सोविता गौतम सदस्यमा मनोनीत भएकी छन्। उक्त स्वास्थ्य समिति आईपीयूको अङ्ग बन्ने प्रक्रियामा प्रयासरत रहेको छ।
शाक्यले गौतमको प्रतिनिधित्वलाई पनि सकारात्मक रूपमा लिँदै भनिन्,‘समितिमा युवाहरूको प्रतिनिधित्व भएको छ, यो ठूलो उपलब्धि हो भन्ने लागेको छ।’
Shares

प्रतिक्रिया